२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

उत्तर कोरियाद्वारा अमेरिका, जापान र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोध

उत्तर कोरियाद्वारा अमेरिका, जापान र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोध

उत्तर कोरियाले आइतबार दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई ‘नेटोको एसियाली संस्करण’ भएको निन्दा गर्दै यसको घातक परिणाम हुने चेतावनी दिएको छ।

तीन राष्ट्रले ब्यालेस्टिक मिसाइल र हवाई रक्षा, पनडुब्बीविरोधी युद्ध र रक्षात्मक साइबर प्रशिक्षणमा ‘फ्रिडम एज’ भनिने तीन दिने सैन्य अभ्यास सम्पन्न गरेको एक दिन पछि उत्तर कोरियाको यस्तो अभिव्यक्ति आएको हो।

उत्तर कोरियाको आणविक खतरा र चीनको बढ्दो क्षेत्रीय प्रभावको सामना गर्ने एकताको संकेतका रूपमा वार्षिक अभ्यास गर्न गत वर्ष अमेरिकी, दक्षिण कोरियाली र जापानी नेता त्रिपक्षीय शिखर सम्मेलनमा सहमत भएका थिए।

‘हामी उत्तर कोरियाविरुद्धको सैन्य अभ्यासको कडा निन्दा गर्दछौं,’ प्योङयाङको विदेश मन्त्रालयले आइतबार जनाएको छ।

‘अमेरिका–जापान–दक्षिण कोरिया सम्बन्धले नेटोको एसियाली संस्करणको रूप लिएको छ। यसको परिणाम घातक हुनेछ,’ प्योङयाङले भनेको छ।

उत्तर कोरियाले सैन्य समूहलाई बलियो बनाउन अमेरिका र यसका सहयोगीहरूको चाललाई कहिल्यै बेवास्ता नगर्ने बताएको छ।

पछिल्लो संयुक्त अभ्यासमा वासिङ्टनको परमाणु–सञ्चालित विमान वाहक ‘युएसएस थियोडोर रुजवेल्ट’, टोकियोको निर्देशित मिसाइल विध्वंसक ‘जेएस ओटागो र सियोलको ‘केएफ–१६’ लडाकू जेट समावेश थिए।