६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

एसईई फेल भएका बाबुनानीलाई प्रेम पत्र

एसईई फेल भएका बाबुनानीलाई प्रेम पत्र

न्यूयोर्क- मेरा प्यार भाइबहिनीहरू वा छोराछोरीहरू, तपाईंहरू सबैलाई धेरै धेरै नमस्कार, माया अनि मेरो सम्झना छ। मैले हजुरहरूलाई कुनै नयाँ कुरा भन्न लागेको हैन ! म एसएलसी फेल भएको मान्छे हो। एसएलसी फेल भएको मबाट एसईई फेल भएकालाई आफ्नो भोगाइ र जीवनको यथार्थ बताउन लागेको हुँ।

म फेल भएको कुरा भन्दा मलाई यसमा कुनै हीनताबोध हुँदैन। म मेरो हेलचेक्राइँले गर्दा फेल भएको मान्छे हुँ। ठूलो मान्छे बन्न, धेरै धन पैसा कमाउन शैक्षिक रुपमा उत्कृष्ट नै हुनुपर्छ भन्ने छैन।

विश्वको सबैभन्दा शक्तिशाली नोट अमेरिकाको १०० डलर हो। जसमा बेन्जामिन फ्रैंकलिनको तस्बिर छ। उनी कुनै ठूा नेता अथवा धनी व्यक्ति होइनन्। तर उनले अमेरिका बनाउनको लागि आफ्नो सबैभन्दा उत्कृष्ट विचार दिएका थिए। प्रारम्भिक अमेरिकी इतिहासको प्रमुख व्यक्तित्वमध्ये एक बेन्जामिन फ्रैंकलिन हुन्। उनको शिक्षा थोरै भए पनि उनी एक राजनीतिज्ञ, लेखक, प्रकाशक, वैज्ञानिक, आविष्कारक र कूटनीतिज्ञ थिए। बोस्टनको मामुली परिवारमा जन्मेका फ्रैंकलिनको औपचारिक शिक्षा थोरै थियो। शैक्षिक रुपमा साधारण व्यक्ति भए पनि मानव जीवन सरल र सहज बनाएर सुखमय जिन्दगी बनाउन सकिन्छ भन्नेमा उनी विश्वस्त थिए।

म प्लस टुमा पनि फेल भएको मान्छे हुँ। म ब्याचलर डिग्रीमा पनि फेल भाको मान्छे हुँ। म हरेक क्षेत्रमा कयौं हार र असफलता पाएको मान्छे हुँ। मलाई स-साना असफलता पनि मन पर्छ किनकि यसले मलाई सेल्फ डिपेन्डिङ हुन मद्धत गरेको छ। म गाउँको चौतारोदेखि सिंहदरबारको ढोका-ढोकासम्म पुग्दा पनि सहज र आत्मसम्मान महसुस गर्छु।

त्यसकारण एसएलसीको नतिजा नै जीवनको संघर्ष र संघार होइन। जीवन धेरै लामो छ र धेरै कुराहरू हामीले गर्नुपर्नेछ। जिन्दगीमा धेरै परीक्षाहरू पास गर्नुपर्ने हुन्छ। त्यसको लागि अभिभावकको साथ आफ्नो मन र आफ्नो तन अनि आफ्नो ज्ञानलाई अझै बलियो बनाउने समय हो यो।

आमाको कोखबाट निस्केर जब तिमी आफैं हिंड्न बोल्न सक्छौं त्यसपछि तिम्रो जीवन आफैंले तय गर्ने हो। अरुले त सुझाव र आलोचना मात्रै गर्ने हो। आफ्नो भविष्य कतातिर लैजाने भन्ने कुरा आफ्नो हातमा छ। साथीहरू कलेज जाँदा म एक वर्ष कम्प्युटर क्लास गएँ। आफ्नो स्किलहरू बढाउनलाई मलाई धेरै मद्दत पुग्यो। त्यसपछि अरुलाई हेरेर आफ्नो जिन्दगी बाँच्ने होइन अरुलाई हेरेर आफ्नो समयलाई बर्बाद गर्ने होइन भन्ने मैले थाहा पाएँ। आफूले आफ्नो समयको सदुपयोग गरौं मानसिक र शारीरिक रुपमा बलियो बनेर एऊटा सुन्दर भविष्य कोरौं।

मैले जिन्दगीमा धेरै कठिन विषयहरू पढेको छु। सफल र सहज अनि सुखमय जीवनको खोजीमा हिँड्दा सन् २०२० को कोरोनाले ३ पटक आक्रमण गर्दा पनि अब जीवन सक्यो भन्दाभन्दै बाँचेको मान्छे हुँ म। त्यसपछि स्तन क्यान्सरले नराम्ररी धकलेर जिन्दगी सक्यो भनेको मान्छे हुँ म। तर बाँच्ने आशा भयो भने तपाईं धेरै सुख र सहज जीवन जिउन सकिन्छ भन्ने मैले बुझेको छु।

मैले समसामयिक र सतही जीवनको मात्र अध्ययन गरेको छु। त्यसको बारेमा धेरै कुरा मैले बुझ्न सकेको छैन। मैले समाज शास्त्र र मानवशास्त्र पढें। समाज र मानव के हो कता जाँदै छ भन्ने कुरा मलाई अझै बुझ्न सयौं वर्ष लाग्न सक्छ ! कर्म गर्यो भने आर्थिक, सामाजिक, शैक्षिक, व्यापारिकलगायत कुनै पनि क्षेत्रमा सफल बन्न सकिन्छ भन्ने कुरा हामीले धेरै प्रेरणादायक व्यक्तिहरूको कथाहरू सुनेर बुझेका छौं।

ती बारबार असफल भएका मान्छेहरू आज विश्वको सबैभन्दा धनी व्यक्तिहरू बनेका छन् र चर्चित भएका छन्। त्यसकारण एकपटक फेल हुने मान्छेहरूको कथा पढौं र आफूलाई जीवनमा आफ्नै लागि मोटिभेस्नल बनौं। जिन्दगी एउटा सुन्दर रचना हो, मानसिक रुपमा बलियो बनौं। देखेको जति सपना सबै पूरा हुन्छन् भन्ने त छैन तर तपाईंका सय प्रतिशत सपनाहरूमा ६० प्रतिशत सपना सफल भए भने सम्झनुस् तपाईं एउटा सरल र सफल मानव हो।

आफूलाई मानसिक रुपमा बलियो बनाऊँ। कहिलेकाहीं हामीले परिवार शिक्षक र पद्धतिलाई दोष दिन्छौं। तर दोष जसलाई दिए पनि हामीमा आफ्नो कर्तव्य र दायित्व रहन्छ। सानैदेखि लक्ष्य निर्धारण गर्‍यो भने त्यो लक्ष्यमा एकदिन अवश्य पुगिन्छ।

सम्बन्धित खबर

Image

 छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट

Image

ह्याप्पी तीज