संसारभर वन क्षेत्र डरलाग्दो दरमा घटिरहेको छ। ग्लोबल फरेस्ट वाच (जीएफडब्ल्यू) का अनुसार सन् २०१० मा संसारमा ३.९२ ग्लोबल हेक्टर्स (जीएचए) क्षेत्रफलमा रुख थिए तर २०२३ मा २ करोड ८३ लाख (२८.३ मिलियन हेक्टर-एमएचए) हेक्टर नष्ट भएको छ।
सन् २००२ देखि २०२३ सम्म विश्वव्यापी रूपमा १६ प्रतिशत क्षति अर्थात् कुल ७ करोड ६० लाख ३० हजार (७६.३ मिलियन) हेक्टरमा रुख नष्ट भएको छ। यो अवधिमा प्राथमिक वनको क्षेत्रफल ७.४ प्रतिशतले घटेको छ। संसारमा कुल जमिनको ३१ प्रतिशत अर्थात् ४ अर्ब ६ करोड (४.०६ बिलियन) हेक्टर वन क्षेत्र छ। यो क्षेत्र प्रतिव्यक्ति ०.५२ हेक्टर बराबर रहे पनि संसारका मासिस वा भौगोलिक दृष्टिले हेर्ने हो भने समान रूपले बाँडिएको छैन।
संसारको वनको सबैभन्दा ठूलो अनुपात उष्ण कटिबन्धीय क्षेत्रमा ४५ प्रतिशत छ। त्यसपछि बोरियल अर्थात् चिसो तापक्रमका साथ उत्तरी गोलार्धका भागमा ओसिलो भूमिका वन २७ प्रतिशत, समशीतोष्ण वन १६ प्रतिशत र उपोष्ण कटिबन्धीय वन क्षेत्र ११ प्रतिशत छ। संसारको आधाभन्दा बढी ५४ प्रतिशत वन मात्र पाँच देश रुसी संघ, ब्राजिल, क्यानडा, अमेरिका र चीनमा अवस्थित छन्।
वन क्षेत्रको ९३ प्रतिशत प्राकृतिक रूपमा पुनर्जीवित वनले बनेको छ भने ७ प्रतिशत रुख रोपेर बनाइएको छ। तर प्राकृतिक वनको क्षेत्रफल सन् १९९० देखि घट्दो क्रममा छ भने रुख रोपेर विस्तार गरिएको वनको क्षेत्रफल बढेको छ। यद्यपि यो वृद्धिदर सुस्त देखिन्छ। खाद्यान्न उत्पादनका लागि जमिन आवश्यक भएकाले पृथ्वीमा भएका लगभग ६० खर्ब (६ ट्रिलियन) रुखमध्ये आधाभन्दा धेरै काटिएका छन्।
४२ करोड हेक्टर बढी वन हरायो
वन फँडानीका कारण बर्सेनी १ करोड (१० मिलियन) हेक्टर र डढेलो वा आगोका कारण ७ करोड (७० मिलियन) हेक्टर क्षेत्रफल प्रभावित हुने गरेको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाउँछ। वन फँडानीदरमा आएको कमीका बाबजुद पनि सन् १९९० देखि यता ४२ करोड (४२० मिलियन) हेक्टरभन्दा बढी वन हराइसकेको छ। कृषि विस्तार, उत्खनन, खनजोत र कटान जस्ता धेरै कारण छन् जसले जंगल मासिने क्रम बढेको छ।
संकटसँग लड्दै केन्या
सन् २०१५ देखि २०२२ सम्मको अवधिमा अफ्रिकाले लगभग ४.४ मिलियन हेक्टर जंगल गुमाएको छ, जसमध्ये धेरैजसो महाद्वीपको दक्षिणी र पूर्वी भागमा थिए। ग्लोबल फरेस्ट वाचको तथ्यांकअनुसार, केन्याले सन् २००२-२०२२ को बीचमा ५० हजार ७०० हेक्टर प्राथमिक वन गुमाएको छ। यो क्षति देशमा अवस्थित वनका कुल रूखको १४ प्रतिशत हो।
बढ्दो वनविनाश रोक्न र बहुमूल्य जंगल जोगाउन राष्ट्रव्यापी रूपमा घटेका वन क्षेत्रलाई लक्ष्य गरी सरकारी र अन्य क्षेत्रबाट पनि परियोजना सञ्चालन गरिएका छन्।टाइटा हिल्स वन, माउन्ट केन्या वन, एबरडारे वन, ताना रिभर डेल्टा, साबाकी रिभर माउथ म्यान्ग्रोभ वन र डकच्चा वुडल्याण्ड गरी कैयौँ हेक्टर क्षेत्रमा वन विस्तार गरिएको छ।
पानीको गुणस्तर र मात्रा, जैविक विविधता, र जलवायु सुधारमा कमी जस्ता समस्या बढ्दै थिए। जलवायु संकट रोक्नका लागि माउन्ट केन्यामा मात्र ६ हजार हेक्टर क्षेत्रमा तत्काल रुख रोपेर वन पुन:स्थापना गर्न आवश्यक थियो। काउन्टी सरकार, केन्या वन सेवा र केन्या वन अनुसन्धान संस्थान जस्ता प्रमुख राष्ट्रिय सरकारी एजेन्सीहरु, केन्या ब्रुअरी लिमिटेड, कोकाकोला बेभरेज अफ्रिका-केन्या जस्ता संस्थाको साझेदारीमा हजारौँ रुख रोपिएका छन्।
केन्या अझै पनि अनुसंशित वनक्षेत्र प्राप्त गर्नका लागि संघर्ष गरिरहेको छ। केन्यामा मात्र ८ प्रतिशत क्षेत्र वनले ढाकेको छ। अफ्रिकाको पूर्वी तटमा अवस्थित केन्या विविध वन्यजन्तु र वन श्रृंखलाका लागि प्रसिद्ध भए पनि पछिल्ला दशकमा अत्यधिक पर्यावरणीय गिरावट देखियो। रुख कटान, दाउरा र कोइला बाल्नेसँगै अवैध वस्ती र खेतीपाती लगायतका कारण वन विनाश संकटका रूपमा देखा पर्यो। यसबाट डरलाग्दो खडेरी र गरिबीदर अत्यधिक रूपले बढेको छ। २५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका यो मुलुक हाल १० प्रतिशत वन क्षेत्र पुनःस्थापना गर्ने प्रयासमा छ।
वन विस्तार गर्न सिड बल
सन् २०१५ मा अफ्रिकाले २०३० सम्ममा १० करोड (१०० मिलियन) हेक्टर वनक्षेत्र पुन:स्थापना गर्ने महत्त्वाकांक्षी लक्ष्य लियो। केन्या सरकारले ५१ लाख (५.१ मिलियन) हेक्टर पुन:स्थापना गर्ने प्रतिबद्धता जनायो। नेचर केन्या लगायतका दर्जनौँ संस्था यो लक्ष्य प्राप्तिमा सरकारलाई सहयोग गर्न वनमा रुख बढाउँदैछन्।
पछिल्लो १० वर्षमा देखिएको विनासले वनबाट प्राप्त हुने वस्तु तथा सेवामा नकारात्मक असर देखिनुका साथै पानीको मात्रा र गुणस्तर खस्कँदै गएको छ। भू-क्षय र घातक पहिरो, बाढीका घटना बढेका छन्। खराब पर्यावरणका कारण मानवस्वास्थ्यमा असर परेको छ। दशकौँदेखि वन फँडानीको संकट रोक्न संघर्षरत केन्यामा सरकारी एवं गैरसरकारी नेतृत्वमा जलवायु परिवर्तन र माटोको क्षयले गर्दा मानवसमुदायमा हुने विनाशलाई रोक्न नयाँ प्रविधि र ‘सिड बल’ वा ‘सिड बम’ विकास गरिए। जंगल विस्तार गर्न हेलिकप्टरबाट जमिनमा सिड बल फाल्ने उपाय अपनाइएको छ।
सिड बल अर्थात् बिजबल । यो बिउ हो, जसलाई माटो र मलको मिश्रणमा सुकाएर बनाइन्छ। बिउ अंकुरित हुने समयसम्म सुरक्षित राखिन्छ। सिडबल बिरुवाको खेती गर्ने एउटा सजिलो र टिकाउ उपाय ठानिएको छ।
केन्यामा पनि जैविक विविधतामा सुधार गरी वनविनाश रोक्न विभिन्न समुदायमा लगेर सिड बल बाँडिन्छ। हेलिकप्टरबाट बिजबल फालेर उत्पादनका लागि खाली गरिएका क्षेत्रमा वन क्षेत्र सुधार र वृद्धि गर्ने उपाय अपनाइएको छ। विद्यालयका खाली चौरमा विद्यार्थीलाई सिडबल फाल्ने खेल खेलाउनेदेखि हेलिकप्टरबाट खाली ठाउँमा र कतै मानिस भेला गराएर फाल्ने गरिएको छ। यद्यपि केन्या अझै पनि वनविनाशको संकटबाट मुक्त हुन संघर्षरत छ।