सबैजसो फोहर ल्याण्डफिल साइट पुर्याउने क्रम तत्काल रोकिनुपर्नेमा काठमाण्डौ महानगरको जोड
- १९ असार २०८१
- १ मिनेटको पढाई
काठमाण्डौ – सबै प्रकारको फोहर उठाएर ल्याण्डफिल साइट पुर्याउने क्रम तत्काल रोकिनु पर्नेमा विज्ञ र काठमाण्डौ महानगरको टोलीले जोड दिएको छ । बञ्चरेडाँडामा फोहर व्यवस्थापनको वर्तमान अवस्था अवलोकनका लागि अस्ति सोमबार विज्ञसहित महानगरको टोली पुगेको थियो ।
बर्खा शुरु भएसँगै ल्याण्डफिल साइट, साइटमा पुग्ने सडक तथा अन्य पूर्वाधार र सामाजिक पक्षको व्यवस्थापनका सम्भावित जोखिम अवलोकनका लागि टोली पुगेको महानगरका प्रवक्ता नविन मानन्धरले बताए। प्रवक्ता मानन्धरले साइटमा पुर्याइने फोहरको मात्रा धेरै भएपछि ल्याण्डफिल साइटको उपयोगिता अवधि घट्दै गएको र अहिलेकै मात्रामा फोहर लैजाने हो भने यसको अवधि १५ बर्षमै सकिने अनुमान गर्न सकिने बताए।
काठमाण्डौ महानगरपालिकाले वर्गीकरण गरेर स्रोतमा फोहर घटाउने कामलाई अभियानका रूपमा सञ्चालन गरेजस्तै अरू पालिकाले पनि अनुसरण गर्नुपर्ने उनको भनाई छ । फोहर उत्पादन, सङ्कलन, ढुवानी, व्यवस्थापन र साइटको पूर्वाधार निर्माण गर्ने सबैले आ–आफ्ना ठाउँमा जिम्मेवारी लिनुपर्ने समितिका सदस्य एवम् वडा नम्बर ६ का अध्यक्ष भुवन लामाले बताए।