७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

यात्रापछिको थकान’ले ट्रम्पसँगको बहसमा प्रस्तुति कमजोर भएको बाइडनको दाबी

यात्रापछिको थकान’ले ट्रम्पसँगको बहसमा प्रस्तुति कमजोर भएको बाइडनको दाबी

वाशिङ्टन डीसी  – अमेरिकी राष्ट्रपति जो बाइडनले गत साता पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पसँगको टेलिभिजन बहसमा आफ्नो कमजोर प्रस्तुतिका लागि ” हवाईयात्रापछिको थकान”लाई दोष दिएका छन्।

संवाददाताहरूसँग उनले उक्त बहसअघि आफूले “कयौँ पटक विश्व यात्रा” गर्नु “उपयुक्त” निर्णय नभएको बताए।

“मैले मेरा सहयोगीहरूको कुरा सुनिनँ… र, त्यसपछि म स्टेजमा नै झन्डै निदाएँ,” उनले भने। एकासी वर्षका बाइडन उक्त बहस हुनुभन्दा झन्डै दुई साताअघि स्वदेश फर्केका थिए।

उनी जुन १५ मा फर्किएका थिए भने उक्त टेलिभिजन बहस जुन २७ मा भएको थियो। उक्त प्रस्तुतिपछि उनको स्वास्थ्यलाई लिएर आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावमा बाइडनलाई उम्मेदवार बनाउनु हुँदैन भन्ने बहस डेमोक्र्याट पार्टीभित्रै पनि चुलिएका बेला उनको यस्तो भनाइ आएको हो।

उनलाई राष्ट्रपतिको चुनावी दौडबाट पछि हट्न आग्रह गर्नेमा टेक्ससबाट चुनिएका एकजना बहालवाला डेमोक्र्याट सांसद पनि छन्। लोएड डगेटले मङ्गलवार एउटा विज्ञप्तिमा भनेका छन्, “म आशावादी छु- उनले (उम्मेदवारी) फिर्ता लिने पीडादायी र कठिन निर्णय गर्नेछन्।”

ट्रम्पसँग भएको गत बिहीवारको टेलिभिजन बहसका क्रममा बाइडनलाई केही विषयहरूको प्रतिक्रिया दिँदा बोल्न पनि गाह्रो परेको जस्तो देखिएको थियो। “यो बहाना होइन, प्रस्टिकरण हो,” उनले मङ्गलवार साँझ भर्जिनियामा आयोजित एउटा ‘निजी चुनावी चन्दा सङ्कलन कार्यक्रम’मा उनले आफ्नो यात्रा र थकानको प्रसङ्ग निकाल्दै भने। उनले उक्त बहसमा आफ्नो प्रस्तुतिप्रति माफी पनि मागे।

यद्यपि बाइडनले पुन: चुनाव जित्नका लागि त्यसरी टेलिभिजन बहसमा सहभागी हुनु “महत्वपूर्ण” भएको पनि बताए। बाइडनले गएको महिना दुई साताको अवधिमा युरोपमा दुईपटक यात्रा गरेका थिए।

जुन १५ मा उनी इटलीबाट रातभरि यात्रा गरेर फर्केपछि पूर्व राष्ट्रपति बराक ओबामासँगै एउटा ‘चुनावी चन्दा सङ्कलन कार्यक्रम’मा देखा परेका थिए। त्यसको भोलिपल्टै उनी वाशिङ्टन फर्किए।

ह्वाइट हाउसका अधिकारीहरूले यसअघि बहसका दिन बाइडनलाई रुघाले सताइरहेको बताएका थिए। बाइडनले मङ्गलवार आफ्ना कुनै पनि रोगबारे उल्लेख गरेनन्। ह्वाइट हाउसकी एकजना प्रवक्ताले बाइडनले बहसका दिन रुघाको कुनै पनि औषधि नखाएको बताएकी थिइन्।

बाइडनले ट्रम्पसँगको बहस तयारीका क्रममा वाशिङ्टन डीसी बाहिर रहेको ‘क्याम्प डेभिड’मा ६ दिने एकान्तवास पनि बसेका थिए। बाइडन ह्वाइट हाउसका लागि डेमोक्र्याटिक पार्टीका सबैभन्दा प्रबल सम्भावित उम्मेदवार हुन्।

ट्रम्पसँगको बहसमा उनको कमजोर प्रस्तुतिले निम्त्याएको आलोचनापछि पनि उनले राष्ट्रपतिको दौडमा कायम रहने वाचा गरेका छन्।