पहिरोले अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्ड खुल्यो
- १९ असार २०८१
- १ मिनेटको पढाई
अविरल वर्षासँगैको बाढी र पहिरोले मंगलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्डमा पुन: यातायात्र सञ्चालन भएको छ । सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मर्स्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा खसेको पहिरो हटाएसँगै लमजुङ खण्डमा यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए ।
लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध छ । मङ्गलबार राति चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन ।