नेपाली मुलका डेलिगेट भण्डारीलाई अमेरिकामा विधायिकी नेशनल अवार्ड
- २२ असार २०८१
- १ मिनेटको पढाई
न्युयोर्क-मेरिल्यान्ड राज्यको निर्वाचित जनप्रतिनिधि तथा नेपाली मुलका डेलिगेट ह्यारी भण्डारीले अमेरिकामा विधायिकी नेशनल अवार्ड प्राप्त गरेका छन् ।
नेशनल एशोसियसन अफ डेफले मेरिल्यान्ड जनरल एसेम्वलीका डेलिगेट ह्यारी भण्डारीलाई नेशनल लेजिष्लेटिभ (विधायिकी) अवार्डले पुरस्कृत गरेको हाे ।
अमेरिका सबै राज्यहरुका विधायकहरुबाट उनीहरुले निर्माण गरेका कानुन र त्यसको प्रभावकारिताको आधारमा छनोट गरि उक्त अवार्ड दिइएको हो । भण्डारी अमेरिकामा नेपाली मूलका पहिलो विधायकको रुपमा दुई पटकसम्म मेरिल्यान्डमा निर्वाचित जनप्रतिनिधि हुन् ।
अमेरिकाको सिकागो राज्यमा आयोजित ५७ औ नेशनल कन्भेन्सन अफ डेफमा नागरिकको अधिकारको लागि सुनिश्चित गर्दे आएका र सन् १८५० मा अमेरिकाको न्यूइंग्ल्यान्डमा स्थापना भएको नेशनल एशोसियसन अफ डेफले भण्डारीलाई उक्त अवार्डले विभुषित गरेको हो ।
श्रवण, दृश्य शक्ति कमजोर भएका र पूर्ण रुपमा अपांगता भएका लाखौं अमेरिकीहरु र उनीहरुको परिवारको लागि जीवनस्तर उकास्नको लागि वकालत गर्दे आएको उक्त संस्था अमेरिकामा भएका सबैभन्दा पुरानो इतिहास वोकेको संस्था हो ।
उक्त संस्थाका सदस्यहरुमा युएस मेम्बर अफ दि वर्ल्ड फेडेरेशन अफ दि डेफ जस अर्न्तगत एक सय विस देशका एशोसियसन अफ डेफका सदस्य रहेका छन् ।
अमेरिका र विश्वभरिवाट जम्मा भएका उक्त क्षेत्रका व्यक्तिहरुको सामु भण्डारीलाई अवार्ड प्रस्तुत गरिएको थियो । उक्त सम्मेलन जुलाई १ देखि ६ तारिखसम्म सिकागोमा जारी छ ।
सिभिल राइट (नागरिक अधिकार) को क्षेत्रमा विगत १७० वर्ष भन्दा वढी वर्ष देखि काम गर्दे आएको उक्त संस्थाको हरेक दुई वर्षमा हुने सम्मेलनमा अमेरिका भरिबाट विधायकहरुले पास गरेको विधयेकको आधार र प्रभावकारितामा उक्त अवार्ड प्रदान गर्ने गरिएको छ ।