१० मंसिर २०८१, सोमवार
25 November 2024, Monday

कमला ह्यारिस को हुन्, के उनी बाइडनको साटो राष्ट्रपतिको उम्मेदवार बन्न सक्छिन्

कमला ह्यारिस को हुन्, के उनी बाइडनको साटो राष्ट्रपतिको उम्मेदवार बन्न सक्छिन्

एजेन्सी – संयुक्त राज्य अमेरिकाको डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेताहरूले आगामी निर्वाचनमा जो बाइडन राष्ट्रपतिको उम्मेदवार बन्नु हुने कि नहुने भन्ने विषयमा छलफल गर्दै छन्। बाइडनको ठाउँमा उपराष्ट्रपति कमला ह्यारिस उम्मेदवार बन्नुपर्ने आवाज पनि उठेको छ।

उमेरका कारण वयोवृद्ध बाइडनलाई मतदानमा प्रतिकूल प्रभाव पर्ने ठानिएको छ। कतिपयले ५९ वर्षीया ह्यारिसलाई उम्मेदवार बनाएर डेमोक्र्याटिक दलले नयाँ अभियानको थाल्नुपर्ने माग गरेका छन्।

कमला ह्यारिस “अप्रूभल रेटिङ” अर्थात् स्वीकार्यता मूल्याङ्कनमा निकै तल छिन्। अनि उपराष्ट्रपतिको हैसियतमा उनले देशको सर्वोच्च पदमा चुनिने गरी छाप छाड्न पर्याप्त काम गरेकोमा धेरै संशय देखिन्छ।

कमला ह्यारिस कसरी राजनीतिमा प्रवेश गरिन्?
सन् २०२० को राष्ट्रपतीय चुनावमा प्रथम महिला, प्रथम अश्वेत र प्रथम एशियाली अमेरिकी उपराष्ट्रपति बनेर कमला ह्यारिसले इतिहास बनाएकी थिइन्।

सन् २०२१ को नोभेम्बरमा राष्ट्रपति बाइडन स्वास्थ्यको परीक्षण हुँदै गर्दा उनले ७५ मिनेट कार्यवाहक राष्ट्रपति बनेकी थिइन्।
ह्यारिसको जन्म ओक्लन्ड, क्यालिफोर्नियामा भएको थियो। उनकी आमा भारतीय र बुवा जमैकाका थिए।

उनी पाँच वर्षको हुँदा उनका आमाबुवाको सम्बन्धविच्छेद गरेका थिए र उनलाई मुख्य प्रायः उनकी आमा श्यामला गोपालन ह्यारिसले हुर्काएकी थिइन्। उनी क्यान्सर अनुसन्धानकर्ता र नागरिक अधिकार अभियानकर्ता थिइन्।

ह्यारिसले आफ्नी आमाले आफू र बहिनी मायालाई ओक्लन्डको अश्वेत समुदायसँगै हुर्काएको जनाएकी छन्।

“मेरी आमालाई आफूले दुई अश्वेत छोरी हुर्काउँदै गरेको राम्ररी थाहा थियो,” कमलाले आफ्नो जीवनी ‘द ट्रूथ्स वी होल्ड’ मा लेखेकी छन्।

“उनलाई आफूले स्वीकार गरेको नयाँ देशले माया र मलाई अश्वेत बालिका मान्छ भन्ने थाहा थियो। उनी हामी आत्मविश्वासपूर्ण र गौरवान्वित अश्वेत महिलाका रूपमा हुर्किएको सुनिश्चित गर्न कटिबद्ध थिइन्।”

ह्यारिसले हावर्ड यूनिभर्सिटीमा अध्ययन गरिन्। उक्त विश्वविद्यालय अमेरिकाको उत्कृष्ट अश्वेत शैक्षिक संस्थामध्ये पर्छ। त्यहाँ उनी दक्षिण अफ्रिकाको रङ्गभेदविरुद्धको सङ्घर्ष र अमेरिकामा जातीय सम्बन्धजस्ता राजनीतिक मुद्दाहरूमा संलग्न भइन्।

यूनिभर्सिटी अफ क्यार्लिफोर्निया, ह्यास्टिङ्सबाट कानुनको अध्ययन पूरा गरेर उनी वकिल बनेकी थिइन्।उनले क्यालिफोर्नियाका विभिन्न जिल्ला सरकारी वकिलका कार्यालयहरूमा काम गरेकी थिइन्। सन् २०१० मा उनी क्यालिफोर्नियाको महान्यायाधिवक्ता
बनिन्। सन् २०१६ मा उनी अमेरिकाको सिनेटर चुनिएकी थिइन्।
सन् २०२० मा ह्यारिस डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार बन्ने अभियानमा संलग्न भइन्। यद्यपि उनी प्रारम्भिक चरणबाट आन्तरिक प्रतिस्पर्धाबाट पछि हटिन्।

आफू राष्ट्रपतिको उम्मेदवार मनोनीत भएपछि जो बाइडनले उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाए।

उनले भनेका थिए, “कमला बुद्धिमान, कठोर, अनुभवी र प्रमाणित योद्धा हुन्।”

बाइडन र ह्यारिसले पदासीन राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई पराजित गरेका थिए।

बाइडनको अभियानमा उनको विशेष सक्रिय भूमिका थिएन। तर ह्यारिस महिला र अश्वेत मूलकी भएकाले उनीहरूको जितमा त्यसको महत्त्व रहेको ठानिन्छ। किनभने उनीहरूको दाबेदारीको पक्षमा ९० प्रतिशत अश्वेत महिलाहरूले मत दिएका थिए।

उपराष्ट्रपति हुँदा कमला ह्यारिसले के गरिन्?
उपराष्ट्रपतिको हैसियतमा कमला ह्यारिस अमेरिकाको माथिल्लो सदन सिनेटकी पदेन अध्यक्ष हुन्। समान मत सङ्ख्याका कारण विधेयकहरूमा छिनोफानो हुन नसक्दा उनले मतदान गर्न पाउँछिन्।

उनले ३२ पटक त्यसरी मत दिएकी छन्। अमेरिकाको संसदीय इतिहासमा त्यो सर्वाधिक सङ्ख्या हो।

बाइडनले उपराष्ट्रपतिबारे भनेका छन्, “कमलाको कुरा अन्तिम हुन्छ, उनी अनुमानहरूलाई चुनौती दिन्छिन् र सधैँ कडा प्रश्नहरू सोध्छिन्।”

गर्भपतनसँग सम्बन्धित सन् १९७३ को ‘रो भर्सस वेड’ आदेश अमेरिकाको सर्वोच्च अदालतले उल्ट्याइदिएपछि उनले महिलाको प्रजनन अधिकारको पक्षमा पैरवी गर्न अमेरिकाभरि यात्रा गरिन्। त्यसबाट उनको विशेष छवि बन्यो।

तर उपराष्ट्रपतिको पदमा बहाल रहेको सम्पूर्ण अवधिमा उनको ‘अप्रूभल रेटिङ’ कम छ। झन्डै ५१ प्रतिशतले उनको कामगराइसँग चित्त बुझाएका छैनन् भने जम्मा ३७ प्रतिशत मात्रै उनको पक्षमा उभिएको फाइभथर्ट्रीएइट नामक संस्थाले तयार पारेको सर्वेक्षणले देखाएको छ।

बीबीसीका अमेरिकास्थित विशेष संवाददाता केटी केका अनुसार राष्ट्रपति बाइडनले दक्षिण सीमामा आप्रवासन नियन्त्रणको काम उनलाई जिम्मा लगाएकाले त्यसो भएको हुन सक्छ। उनी उक्त समस्या सम्बोधन गर्न लगभग विफल भएकी छन्।

जो बाइडनको साटो उम्मेदवार बन्ने विषयमा अरू नेता र कमला ह्यारिस के भन्छन्?
हाउस अफ रेप्रिजेन्टटिभ्समा रहेका पाँच डेमोक्र्याट नेताहरूले खुलेरै ८१ वर्षे बाइडनलाई नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति पदको उम्मेदवार नबन्न आह्वान गरे। जुन महिनामा डोनल्ड ट्रम्पसँगको सार्वजनिक बहसमा बाइडन फितलो रूपमा प्रस्तुत भएपछि उनीहरूको त्यस्तो धारणा आएको हो।

ओहायोका प्रतिनिधि टिम रायनले बाइडनको साटो ह्यारिस उम्मेदवार बन्नुपर्ने बताएका छन्।

उनले न्यूजवीक म्यागजीनमा लेखेका छन्, “कमला ह्यारिस नै अब हाम्रा लागि उपयुक्त पात्र हुन्। ह्यारिसको उम्मेदवारी जो बाइडनभन्दा ठूलो जोखिम हो भन्नेहरू… वास्तविकताबाट टाढा रहेछन् भन्ने हामीले देख्यौँ।”

क्यालिफोर्नियाका प्रतिनिधि एडम शिफले ह्यारिस ‘अद्भुत राष्ट्रपति’ बन्ने भन्दै उनले ट्रम्पलाई “अभूतपूर्व” पाराले पराजित गर्न सक्ने विश्वास व्यक्त गरे।

हालैका सर्वेक्षणहरूले ह्यारिसले बाइडनभन्दा ट्रम्पविरुद्ध राम्रो गर्न सक्ने देखाए पनि प्रतिस्पर्धा कडा रहने आकलन गरिएको छ।

सीएनएनले जुलाई २ मा सार्वजनिक गरेको सर्वेक्षणमा ४३ प्रतिशत मतदाताले बाइडन र ४९ प्रतिशतले ट्रम्पलाई राष्ट्रपतिमा समर्थन गरेको देखाएको थियो। तर यदि ह्यारिस राष्ट्रपति उम्मेदवार बनेको खण्डमा ४५ प्रतिशतको समर्थन उनलाई हुने र ट्रम्पले ४७ प्रतिशतको समर्थन पाउने सो सर्वेक्षणमा जनाइएको थियो।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमसहित अन्य तीन जनाको नाम पनि बाइडनको सट्टा उम्मेदवार बन्न सक्ने नेताको सूचीमा आएको छ।

तर ह्यारिसले आफूले राष्ट्रपतिमा बाइडनलाई समर्थन गरिरहने जनाएकी छन्। उनले भनिन्, “हेर्नुहोस्, जो बाइडन हामीले मनोनयन गरेका उम्मेदवार हुन्। म यत्ति मात्रै भन्न चाहन्छु: हामीले एक पटक ट्रम्पलाई पराजित गरिसक्यौँ र उनलाई हामी फेरि हराउँछौँ। BBC