७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

संयुक्त राष्ट्र संघको मुख्यालयमा मिथिला चित्रकला प्रदर्शनी

संयुक्त राष्ट्र संघको मुख्यालयमा मिथिला चित्रकला प्रदर्शनी

न्यूयोर्क ।  संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ बिहीबारबाट प्रदर्शनी औपचारिक रुपमा सुरु भएको हो ।

मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दूतावास न्यूयोर्कको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी जुलाई १७ सम्म चल्नेछ ।
संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले प्रदर्शनीको औपचारिक उद्घाटन गरेका हुन्। अध्यक्ष फ्रान्सिसले मिथिला चित्रकला प्रदर्शनीले आफूलाई गम्भीर बनाएको भन्दै मानवताको रक्षाका लागि विश्व एक भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

प्रदर्शनीमा स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागी हुन आएका अधिकांश देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । समारोहलाई सम्बोधन गर्दै स्थायी नियोग प्रतिनिधि एवं राजदूत लोक बहादुर थापाले मिथिला चित्रकलाले सांकेतिक रूपमा दिएको सन्देशलाई गम्भिर रूपमा लिनुपर्ने बताए । उनले जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनिकरणका लागि गम्भिर हुन उच्च नेतृत्वलाई आग्रह पनि गर्नुभयो । समारोहमा राष्टि्य योजना  आयोगका उपाध्यक्ष भीम बहादुर श्रेष्ठलगायतले धारणा राखेका थिए ।

मुख्यालयमा जारी हाई लेभल पोलिटिकल फोरुम अन सस्टेनेवल डेभलपमेन्टलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनीले दिगो विकास लक्ष्य हासिल गर्नका लागि अपनाउनु पर्ने नीतिका बारेमा दवाव दिने अपेक्षा गरिएको मिथिला सेन्टर अमेरिकाका अध्यक्ष अमित प्रताप शाहले जानकारी दिए । उनले जलवायु परिवर्तन, वातावरणीय चेतनासँगै दिगो विकास लक्ष्य हासिल गर्न सांस्कृतिक सम्पदाको भूमिका महत्त्वपूर्ण हुने भएकोले संयुक्त राष्ट्र संघको मुख्यालयमा प्रदर्शनीको आयोजना गरिएको बताए ।