८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

१६६ सांसदको समर्थनसहित ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेस

१६६ सांसदको समर्थनसहित ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १६६ सांसदको समर्थनसहित शुक्रवार राति राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दाबी पेस गरेका छन् ।

ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आग्रहसहित कांग्रेस र एमालेका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर दाबी निवेदन पेस गरेका हुन् ।

एमाले संसदीय दलका नेता समेत रहेका ओली र कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले हस्ताक्षर गरेको निवेदन पत्रमा १६६ सांसदको समर्थन रहेकाले प्रधानमन्त्री पदमा ओलीलाई नियुक्त गरिदिन आग्रह गरिएको छ ।

पत्रमा कांग्रेसका ८८ र एमालेका ७८ सांसद भएकाले संविधानको धारा ७६को उपधारा २ अनुसार आफूहरूको बहुमत पुग्ने उल्लेख गरिएको छ ।

पत्रमा भनिएको छ, सम्माननीय राष्ट्रपतिज्यूबाट मिति २०८१।०३।२८ गतेका दिन नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नको लागि दाबी पेस गर्न आह्वान भएकोमा सो समय सीमा भित्रै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने निम्न दलहरूको समर्थनमा प्रतिनिधि सभामा स्पष्ट बहुमत सहित नेकपा एमालेका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य श्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा हामीहरूको समर्थन भएको ब्यहोरा अनुरोध गर्दछौँ ।

हामी हस्ताक्षरकर्ता दलको प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य सङ्ख्या कुल प्रतिनिधि सभा सदस्य सङ्ख्याको बहुमत रहेको हुँदा उहाँलाई नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरिदिनु हुन अनुरोध गर्दछौँ ।

प्रधानमन्त्री प्रचण्ड संसदबाट विश्वासको मत पाउन नसकेर पदमुक्त भएसँगै राष्ट्रपतिले शुक्रवार नै नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसलगत्तै कांग्रेस र एमालेबाट दाबी पेस भएको हो । अब राष्ट्रपतिले आवश्यक प्रक्रिया पूरा गरेर ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।