न्यूयोर्कमा मौलाउँदै नेपालीबीच अन्तरजातीय विवाह
- ३० असार २०८१
- २ मिनेटको पढाई
सन्त रिसाल, न्यूयोर्क
अमेरिकामा नेपाली बसोबास भएको दोस्रो ठूलो राज्य न्यूयोर्क हो। पहिलोमा टेक्सास पर्छ । न्यूयोर्कमा नेपालको तराई, पहाड र हिमाल सबै भेगका नेपालीहरूको ठूलो संख्यामा बसोबास छ। यहाँ हरेक नेपाली समुदायले आ-आफ्नो स्थान, जातीय पहिचान, धार्मिकता आदिको नाममा थुप्रै संघसंस्था खोलेका छन्।
यहाँका नेपाली समुदायले समय-समयमा आफ्नो कला संस्कृतिको प्रदर्शन तथा नेपाली चाडबाड धुमधामसँग मनाउने गर्छन्।
नेपालीहरूले आफ्नो देशको कला, संस्कृति, पहिरन र खानपान प्रस्तुत गर्दै आफू नेपाली हुँ भएको पहिचान दिन्छन्। उनीहरुले नेपाली पहिचान बचाएर न्यूयोर्कमा बसोबास गर्दै आइरहेका छन्। यसमा उनीहरु गर्व पनि गर्छन्।
आफ्नो कला संस्कृति, धर्म मनाउने त छँदै छ पछिल्लो समय न्यूयोर्कमा अन्तरजातीय विवाहले एउटा छुट्टै स्थान बनाएको छ। के हिमाल, के पहाड, के तराई सबै हामी नेपाली हौँ भन्ने भातृत्वको भावना पनि नेपाली समुदायका मानिसबीच देख्न पाइन्छ। नेपालका सबै जातिको कला संस्कृति हाम्रो आफ्नै हो भन्ने भावनाले यहाँ नेपाली-नेपालीमा अपनत्व अझै बढाएको छ।
पहाडका छोरा गोविन्द सेन्चुरी र हिमालकी छोरी सोनम डोल्मा लामाले विवाह मण्डपमा एकले अर्को जातीय पहिचानको पहिरन (बेहुलाले लामा भेषमा र बेहुलीले साडी, चोलो, चुरा, पोते) लगाएर विवाह गरी हामी सबै नेपाली हौँ, कुनै जात धर्म भेषभूषाले फरक पार्दैन भन्ने उदाहरण दिएका छन्। यो विवाहले हामी नेपाली हुनुमा गौरव गर्छौं, सबै नेपालीबीच समान अपनत्वको भावना छ भन्ने कुरा देखाइ सारा नेपालीको ध्यान आकर्षण गरेको छ।
विवाहमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थिति रहेको थियो। तमु परिवार इनक न्यूयोर्कका अध्यक्ष मणिता गुरुङ, सामाजिक अभियन्ता केशवराम राई, नेवा गुठी न्यूयोर्कका कोषाध्यक्ष प्रेमगोपाल महर्जनलगायत विदेशीहरूले पनि विवाहमा आएर बेहुला बेहुलीलाई आशीर्वाद दिएका थिए। उनीहरूले यसरी नेपालीले एक अर्कालाई सम्मान गरी विदेशमा आफ्नो देशको पहिचान बनाउनुपर्छ भन्दै यो विवाहलाई नमूना भनी प्रशंसा पनि गरेका थिए।