११ मंसिर २०८१, मङ्लबार
26 November 2024, Tuesday

बेहुली साटिएको आरोप लगाउँदै बिहेमै बेहुलाले गरे हङ्गामा

बेहुली साटिएको आरोप लगाउँदै बिहेमै बेहुलाले गरे हङ्गामा

बेहुली साटिएको आरोप लगाउँदै बिहेमै बेहुलाले हङ्गामा गरेपछि प्रहरीले मामिलामा हस्तक्षेप गर्नु परेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको बिहार राज्यको मुजफ्फरपुरमा शुक्रबार राति यो घटना भएको हो ।मुजफ्फरपुरकै गाइघाट निवासी टुनटुन कुमारको विवाह सपनाकुमारीसँग तय भएको थियो । जन्तीसहित बिहेका लागि बेहुलीको घर पुगेका टुनटुन कुमार स्वयंवरका लागि आएकी बेहुलीको अनुहार हेरेपछि आश्चर्यचकित भए । किनकि उनले बिहेको निधो गरेको युवती नभएर अर्कै युवती बेहुलीको भेषमा आएकी थिइन् ।

त्यसपछि बेहुलाले बेहुली साटिएको भन्दै हङ्गामा गरे । उनले ती युवतीसँग बिहे नगर्ने अडान लिए ।बिहे रोकिएपछि बेहुलीको परिवारले टुनटुन कुमारसँगै बिहे गर्ने निधो भएकी सपनाकुमारीलाई बिहेका लागि मनाउन थाले । सपनाकुमारीले ‘लहङ्गा’ मन नपरेको भन्दै बिहेका लागि अस्वीकार गरेपछि उनीहरूले सपनाकुमारीकी बहिनीलाई बेहुली बनाएर पठाएका थिए । तर सपनाकुमारीले फेरि पनि बिहेका लागि अस्वीकार गरिन् ।

प्रहरीले दुवै पक्षलाई थानामा बोलाएर छलफल गर्यो । थाना प्रमुख संजीवकुमार दुवेको पहलमा दुवै पक्षबिच सहमति भयो । त्यसपछि मन्दिरमा गएर टुनटुन र सपनाकुमारीबिच विवाह सम्पन्न भयो ।