अमेरिकामा १ अर्ब डलरभन्दा बढीको घोटालामा चिनियाँ टाइकुन दोषी
- ०२ साउन २०८१
- १ मिनेटको पढाई
वासिङ्टन डीसी । स्वघोषित निर्वासनमा अमेरिकामा रहेका चिनियाँ व्यवसायी क्वो वेङक्वेईमाथि कयौँ अभियोग चलाइएको छ । अनलाइनमा आफ्नो फलोअरहरूलाई एक अर्ब डलरभन्दा बढी ठगेको भन्दै अमेरिकाको एक अदालतमा उनीमाथि ती अभियोग चलाइएको थियो ।
१२ मध्ये ९ ओटा अभियोगमा क्वो दोषी भेटिएका छन् । यसमा ठगी, सम्पत्ति शुद्धीकरण जस्ता अभियोग छन् । नोभेम्बर १९ मा क्वोलाई सजाय सुनाइँदैछ ।
उनले दशकौँसम्मको जेल सजाय पाउनसक्ने अनुमान गरिएको छ । सन् २०२३ मा पक्राउ परेयता नै क्वो जेलमा थिए । उनी चिनियाँ कम्युनिस्ट पार्टीका कटु आलोचक हुन् ।
उनी पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख रणनीतिकार स्टेफन ब्याननका एक सहयोगी पनि थिए । सन् २०१८ देखि सन् २०२३ को बीचमा आफ्ना अनलाइन फलोअरहरूबाट लगानी र क्रिप्टो योजनाका नाममा क्वोले १ अर्ब डलरभन्दा धेरै ठगेको अभियोजनकर्ताहरूले बताएका छन् ।
यो पैसा उनले आफ्नो विलासी जीवन शैलीमा खर्च गरेका थिए । अभियोजनकर्ताहरूका अनुसार यो रकम खर्चेर क्वोले ५० हजार वर्ग फुटको भव्य महल, १० करोड डलरको ल्याम्बोर्गिनी र ३ करोड ७० लाख डलरको योट किनेका थिए ।
क्वो सन् २०१७ मा अमेरिका आएका थिए । त्यसयता नै उनले चिनियाँ शासकहरूको कटु आलोचना गर्दै आएका थिए ।