डोनाल्ड ट्रम्पको सुरक्षाका लागि ड्रोन र रोबोटिक्स कुकुर परिचालन
- ०३ साउन २०८१
- १ मिनेटको पढाई
वासिङटन – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि काउन्टर स्नाइपर, ड्रोन र रोबोटिक्स कुकुर परिचालन गरिएको छ ।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार ट्रम्पलाई इरानबाट आक्रमणको प्रयास हुनसक्ने भन्दै सुरक्षार्थ ड्रोन र रोबोटिक्स कुकुर खटाइएको हो ।
शनिबार पेन्सिलभेनियामा ट्रम्पमाथि गोली हानी हत्याको प्रयास भएको थियो । गोली हानेको आरोपमा २० वर्षीय थोमस म्याथु क्रुक्स घटनास्थलमै मारिएका थिए ।
इरानले ट्रम्पको हत्या गर्ने षड्यन्त्र बनाएको भन्ने सूचना प्राप्त भएपछि केही सातादेखि उनको सुरक्षा बढाइएको राष्ट्रिय सुरक्षा अधिकारीले सीबीएस न्युजलाई बताएका छन् । उनीमाथि हुनसक्ने आक्रमणबाट जोगाउन सुरक्षा कडा पारिएको थियो । तर, २० वर्षीय युवकले चलाएको बन्दुक र इरानी आक्रमणको सम्बन्ध हालसम्म भेटिएको छैन ।
ट्रम्पको सुरक्षाका लागि ड्रोनबाहेक तत्काल प्रत्याक्रमण गर्ने टोली र निसानेबाजहरू पनि खटाइएको बताइएको छ ।बीबीसीका अनुसार इरानको रेभलुसनरी गार्ड्सका कमान्डर कासिम सुलेमानीको हत्या गर्न निर्देशन दिएको प्रतिशोध लिन ट्रम्प र अमेरिका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहितका अधिकारीहरूले तेहरानबाट धम्की खेप्दै आएका छन् ।