राष्ट्रपति बाइडेनलाई माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्या
- ०४ साउन २०८१
- १ मिनेटको पढाई
वासिङटनऔ अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ सङ्क्रमणसँग सम्बन्धित ‘माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्याको’ अनुभव गर्नुभएको र चिकित्सकको सल्लाहमा ‘प्याक्सलोभिड’ को मात्रा दिइएको ह्वाइट हाउसले जनाएको छ ।
बाइडेनका चिकित्सक डा. केभिन ओ कनरले अमेरिकी राष्ट्रपतिलाई ज्वरो नआएको र सङ्क्रमणसँग सम्बन्धित अन्य लक्षणहरू पनि सामान्य रहेको बताए।
डा. केभिन ओ कनरले भने “राष्ट्रपतिले कोभिड–१९ सङ्क्रमणका कारण माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्या अनुभव गरिरहनुभएको छ । उहाँलाई ‘प्याक्सलोभिड’ दिइराखेका छौँ ।
उहाँलाई ज्वरो आएको छैन र अन्य मुख्य लक्षणहरू सामान्य छन् ।” “राष्ट्रपतिको अनुमति लिएर उहाँको बारेमा मैले पहिलेजस्तै नियमित जानकारीहरू सार्वजनिक गरिरहनेछु,” उनले बताए।
ह्वाइट हाउसले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति बाइडेन डेलावेयर फर्केर आइसोलेसनमा बस्नुहुनेछ । त्यस समयमा उहाँका सबै जिम्मेवारीहरू पूर्ण रूपमा सम्हाल्ने कार्यलाई जारी राख्नुहुनेछ ।” लस भेगासमा आयोजित राष्ट्रिय सम्मेलनमा भाग लिएको एकदिन पछि ८१ वर्षीय राष्ट्रपति बाइडेनमा बुधबार कोभिड–१९ सङ्क्रमण देखिएको हो ।
सकारात्मक परीक्षणपछि, बाइडेनले एक्स गरेको पोस्टमा भन्नुभएको छ, “मलाई कोरोना सङ्क्रमण देखाएको छ तर म ठिक छु । स्वास्थ्य लाभको शुभकामनाका लागि सबैप्रति आभारी छु । सबैलाई धन्यवाद दिन चाहन्छु।” “म निको नहुँदासम्म आइसोलेसनमा हुनेछु र यस अवधिमा म अमेरिकी जनताप्रतिको मेरो कर्तव्यलाई निरन्तरता दिनेछु”, वक्तव्यमा भनिएको छ ।
राष्ट्रपतिका निजी चिकित्सकले बाइडेनमा सामान्यरुघाखोकी र माथिल्लो श्वासप्रश्वास नलीमा समस्याका लक्षणहरू रहेको बताएका छन् । यसअघि सन् २०२२ को जुलाईमा बाइडेन पहिलोपटक कोभिड सङ्क्रमित भएका थिए ।