भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल एक्समा सबैभन्दा बढी फलोअर पाउने राजनीतिज्ञ बनेका छन् । गत १४ जुलाईमा नै मोदीले एक्समा १० करोड फलोअर कटाएका हुन् ।
यससँगै एक्सका मालिक एलन मस्कले एक पोस्टमार्फत मोदीलाई बधाई दिएका छन् । मोदी एक्स ह्यान्डललाई मेन्सन गर्दै मस्कले ‘विश्वमा सबैभन्दा धेरै फलो गरिएको राजनीतिज्ञ बनेकोमा बधाई छ’ लेखेका छन् ।
एक्समा यो सफलता पाएपछि मोदी आफैंले यसलाई एउटा जीवन्त माध्यमका रूपमा अर्थ्याएका छन् । उनले लेखेका छन्, “एक्समा १०० मिलियन ! यो जीवन्त माध्यममा रहन पाउँदा र छलफल, बहस, अन्तर्दृष्टि, जनताको आशीर्वाद, रचनात्मक आलोचना, लगायतका कुराहरू गर्न पाउँदा खुसी लागेको छ । आगामी समय पनि यस्तै आकर्षक रहोस् भन्ने आशा छ ।”
एक्समा मोदीले पाएको फलोअर क्रिकेटर विराट कोहली (६४.१ मिलियन), ब्राजिलियन फुटबलर नेमार जुनियर (६३.६ मिलियन), अमेरिकी बास्केटबल खेलाडी लेब्रोन जेम्स (५२.९ मिलियन) जस्ता विश्वका चर्चित खेलाडीहरूभन्दा बढी हो ।
मोदीको फलोअर्स संख्या अमेरिकी राष्ट्रपति जो बाइडेन (३८.१ मिलियन), दुबईका शासक शेख मोहम्मद (११.२ मिलियन) र पोप फ्रान्सिस (१८.५ मिलियन)भन्दा धेरै छ । भारतीय राजनीतिक नेताहरूमा पनि मोदी अगाडि छन्, जहाँ विपक्षी नेता राहुल गान्धीका २६.४ मिलियन र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका २७.५ मिलियन फलोअर छन् ।
विश्वका चर्चित सेलिब्रिटीहरू टेलर स्विफ्ट (९५.३ मिलियन), लेडी गागा (८३.१ मिलियन) र किम कार्दशियन (७५.२ मिलियन) भन्दा पनि मोदीको फलोअर संख्या बढी छ ।
विशेषतः एक्समा मोदीले आफ्नो आधिकारिक धारणा, पार्टीका कुरा, व्यक्तिगत जीवन लगायतका कुराहरू राखिरहेका हुन्छन् । २००९ मा यो प्लेटफर्ममा सामेल भएदेखि नै मोदीले नियमित रूपमा प्रयोग गर्दै आएका छन् । उनी सर्वसाधारणहरूसँग पनि सम्पर्कमा रहन्छन्, उनीहरूका सन्देशहरूमा जवाफ दिन्छन् र कसैलाई ब्लक गर्दैनन् ।
मोदीको एक्स ह्यान्डलले पछिल्लो तीन वर्षमा मात्रै लगभग तीन करोड फलोअर पाएको छ ।
उनी एक्ससँगै फेसबुक, युट्युब र इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय छन् । जहाँ क्रमशः ४९ मिलियन फलोअर्स, २५ मिलियन सब्सक्राइबर र ९१ मिलियन भन्दा बढी फलोअर्स रहेका छन् ।