२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

मेक्सिकोका अधिकारकर्मीको परिवारसहित गोली हानी हत्या

मेक्सिकोका अधिकारकर्मीको परिवारसहित गोली हानी हत्या

मेक्सिको- मेक्सिकोका एक आदिवासी अधिकारकर्मी र उनको परिवारको अज्ञात समुहद्वारा गोली हानी हत्या गरेको अभियोजकको कार्यालयले जनाएको छ।

दक्षिणी राज्य ओक्साकाको राजमार्गमा यात्रा गरिरहेका अधिकारकर्मी लोरेन्जो सान्टोस टोरेस र उनको परिवार सवार पिक–अप ट्रक रोकेर बिहीबार गोली हानी हत्या गरिएको थियो ।

त्यसपछि आक्रमणकारीहरूले टोरेस र उहाँको परिवारलाई भित्र राखेर गाडीमा आगो लगाइदिएको राज्य अभियोजकको कार्यालयले जनाएको छ ।

“हिंसात्मक तरिकाले भएको अपराधको हामी निन्दा गर्दछौँ“, राज्य अभियोजक बर्नार्डो रोड्रिग्ज अलामिलाले पत्रकारहरूलाई भने। उनले उक्त आक्रमण ’बदलाको भावनाबाट प्रेरित’ भएको हुन सक्ने बताए।

सान्टोस टोरेस ओक्साकामा सक्रिय मानव अधिकार अभियानकर्ता थिए।

आदिवासीका लागि मानवअधिकार तथा परामर्श केन्द्र (सेडापी) का अनुसार आदिवासी समुदायको राजनीतिक, सामाजिक र भूमि अधिकारको रक्षाका लागि गरिएको कामका लागि उहाँलाई धम्की आएको थियो।

“लोरेन्जो सान्टोस टोरेसले सान्टियागो अमोलटेपेक सहरको नगरपालिकाका अधिकारीहरूले गरेको अन्यायको विरोध गरेका थिए“, हत्याराहरूलाई सजाय दिन आह्वान गर्दै सेडापीले भन्यो ।

लामो समयदेखि लागुऔषध तस्करी र कृषि भूमिसम्बन्धी विवादसँग जुधिरहेको मेक्सिकोमा हालैका वर्षहरूमा धेरै मानव अधिकारकर्मीहरुको हत्या भएको छ।

सम्बन्धित खबर