हनुमन्ते पस्यो बस्तीमा, उच्च सतर्कता अपनाउन आह्वान
- ०५ साउन २०८१
- १ मिनेटको पढाई
भक्तपुर: भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि आज साँझदेखि उर्लेर आएको हनुमन्ते नदी भक्तपुरको बस्तीमा पसेको छ ।
काभ्रेको नाला, भक्तपुरको ताथलीलगायत क्षेत्रमा परेको भीषण वर्षाका कारण काभ्रेदेखि आएको बाढी हनुमन्तेमा नदीभन्दा माथि उर्लिएपछि बस्तीमा पसेको हो । भक्तपुरको थुसाचामा पुलमाथि बाढी पसेपछि जगातीबाट च्यामासिंह जाने सडक नै अवरुद्ध भएको छ ।
बाढी नदीबाट माथि आएर सडकबाट खोला बग्न थालेको छ ।
आसपासका घर एवं बस्तीमा पानी पसेको छ । भक्तपुरको हनुमान घाट, सूर्यविनायकका राम मन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्रमा बाढी बस्तीमा पसेर डुबानमा परेको छ ।
राम मन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको हो ।
हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनाराका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो र हनुमन्ते नदीको सहायक नदी एवं खोलाहरुमा समेत बाढीको बहाव बढेको छ । बाढी पसेपछि जगाती, च्यामासिंह, हनुमानघाट, बाराहीस्थानको जनजीवन प्रभावित भएको छ ।