महिला एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ९ विकेटले हरायो
- ०६ साउन २०८१
- १ मिनेटको पढाई
महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोली पाकिस्तानसँग पराजित बनेको छ । आइतबार राति श्रीलंकाको रङ्गिरी दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशालामा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १०८ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमै १ विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानको जितका लागि गुल फेरोजाले ५७ रन बनाउँदा मुनिबा अली ४६ रनसहित नटआउट रहिन् ।
यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय आठ रन बनाएको थियो । यसअघि पहिलो खेलमा भने नेपालले यूएईलाई पराजित गरेको थियो ।