७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

विमान दुर्घटनाप्रति रास्वपाद्वारा शोक व्यक्त, हवाई सुरक्षामा पर्याप्त ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह

विमान दुर्घटनाप्रति रास्वपाद्वारा शोक व्यक्त, हवाई सुरक्षामा पर्याप्त ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह

काठमाडौं : सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शोक व्यक्त गरेको छ ।

रास्वपाले शोक विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना अर्पण गरेको हो ।

‘दुर्घटनाको प्रभावकारी छानबिन गरी आउने तथ्यका आधारमा हवाई सुरक्षामा पर्याप्त ध्यान दिन विमान सेवा प्रदायक कम्पनी, नियामक निकाय र सरकारसमक्ष आग्रह गर्दछौँ’, कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद् घडीमा हामी शोकाकुल परिवारजन र सरकारका साथमा छौँ ।’

यस्तै उपचाररत विमानका क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ । पार्टी सभापति रवि लामिछानेले पनि आफ्नो सामाजिक सञ्जालमार्फत उक्त दुर्घटनाले मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारप्रति समवेदना अर्पण गरेका छन्।

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा आज सौर्य एयरको ९ एनएएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु रहेका थिए । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।