अमेरिकाका राष्ट्रपति जो बाइडेनले गरे आगामी राष्ट्रपति निर्वाचन नलड्ने घोषणा
- १० साउन २०८१
- १ मिनेटको पढाई
वासिङटन -अमेरिकाका राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति निर्वाचन नलड्ने घोषणा गरेका छन्।
बुधबार साँझ ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडेनले नोभेम्बरमा हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका हुन्।
बाइडेनले लोकतन्त्रको रक्षा र पार्टीका हितका लागि आफू दोस्रो पटक राष्ट्रपति बन्ने दौडबाट पछि हटेको पनि बताएका छन्।
‘राष्ट्रपतिका रूपमा सेवा गर्न पाउनु मेरा लागि गौरवको विषय हो। तर अहिले खतरामा रहेको लोकतन्त्रको रक्षा पहिलो प्राथमिकता हो,’ उनले भने।
बाइडेनले नयाँ पुस्तालाई देश हाँक्ने अवसर पनि दिनुपर्ने बताए।
‘राष्ट्रपतिको रूपमा मेरो रेकर्ड, विश्वमा मेरो नेतृत्व, अमेरिकाको भविष्यको लागि मेरो दृष्टिकोण सबै दोस्रो कार्यकालको लागि योग्य छ,’ उनले भने, ‘ तर लोकतन्त्र र मुलुकको हित व्यक्तिगतभन्दा माथि हुन्छ। हाम्रो देशलाई एकताबद्ध गर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने यो उत्तम समय हो।’
बाइडेन राष्ट्रपति उम्मेदवारबाट बाहिरिएपछि डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिस उम्मेदवार बन्ने सम्भावना छ।
बाइडेनले पनि ह्यारिसलाई अनुभवी र सक्षम रहेको बताएका छन्।
ह्यारिसलाई पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वराष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टन लगायत धेरै वरिष्ठ नेता र उनका प्रतिद्वन्द्वी ठानिएका केही नेताले समेत समर्थन गरेका छन्।
त्यस्तै राष्ट्रपतिका लागि दाबेदार मानिएका क्यालिफोर्नियाका डेमोक्र्याट गभर्नर ग्याभिन न्यूसमले बाइडेनले मैदान छाड्ने बित्तिकै ह्यारिसको समर्थन गरेका थिए। धेरैले ट्रम्पलाई हराउन सक्ने सबभन्दा बलियो दाबेदार ठानेकी मिसिगनकी गभर्नर ग्रेचन ह्विटमरले पनि सोमबार ह्यारिसलाई समर्थन गरेकी छिन्।
चुनाव हुन अब करिब चार महिना (नोभेम्बर ५) मात्र बाँकी छ। यस्तो अवस्थामा डेमोक्र्याटिक पार्टीले जतिसक्दो चाँडो उम्मेदवार चयन गर्ने छ।
यद्यपि सबैजसो चुनावी सर्वेक्षणमा रिपब्लिकन उम्मेदवार ट्रम्पसँग हार्ने देखिएपछि बाइडेन उम्मेदवार निर्णयमा पुगेको बताइएको छ।