८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

भारतलाई हराउँदै पहिलो पटक श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधि

भारतलाई हराउँदै पहिलो पटक श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधि

श्रीलंकाले इतिहास रच्दै महिला एशियाकप क्रिकेटको उपाधि जितेको छ। दम्बुलामा भएको फाइनलमा घरेलु टोली श्रीलंकाले भारतलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

श्रीलंकाको जितमा कप्तान चमारी अथापथ्थुले ६१ रन र हर्षिता समराविक्रमाले ६९ रनको सानदार अर्धशतकीय इनिङ्स खेले। यी दुईले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए।

२००४ बाट सुरु भएको महिला एसियाकपमा श्रीलंका पहिलो पटक च्याम्पियन बनेको हो। यसअघि श्रीलंका पाँच पटक उपविजेता बनेको थियो। भारतले भने केवल दोस्रो पटक एसिया कपको फाइनल गुमायो। भारत यसअघि २०१८ मा बंगलादेशसँग पराजित भएको थियो। भारतले सात पटक एशिया कपको उपाधि जितेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। उसका लागि स्मृति मन्धनाले ४७ बलमा ६० रनको विष्फोटक इनिङ खेल्दा १० चौका प्रहार गरेकी थिइन्। त्यस्तै, ऋचा घोषले ३० रन बनाउँदा जेमिमा रोड्रिग्वेजले २९ रन बनाइन्। श्रीलंकाका लागि कभिसा दिलहरीले २ विकेट लिँदा उदेसीका प्रवोधानी, सचिनी निसन्सलाले समान १ विकेट लिएकी थिइन्।

१ सय ६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले उत्कृष्ट प्रदर्शन गर्दै ८ बल बाँकी हुँदै २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

श्रीलंकाले ७ रनमै पहिलो विकेट गुमाए पनि दोस्रो विकेटका लागि उच्च रनको साझेदारी गर्‍यो। उसका लागि कप्तान चमारी अथापथ्थुले ४३ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६१ रन बनाउँदा हर्षिथा समराविक्रमाले ५१ बलमा ६ चौका र २ छक्काको सहयोऊमा ६९ रनको अविजित इनिङ खेलिन्। उनलाई कभिसा दिलहरीले १६ बलमा ३० रन बनाएर अविजित साथ दिएकी थिइन्।