३ असार २०८२, मङ्लबार
17 June 2025, Tuesday

बङ्गलादेशमा भएको हिंसाको निन्दा गर्दै ईयूले भन्यो– विद्यार्थीमाथि बल प्रयोग भयो

बङ्गलादेशमा भएको हिंसाको निन्दा गर्दै ईयूले भन्यो– विद्यार्थीमाथि  बल प्रयोग भयो

ब्रसेल्स–बङ्गलादेशमा कम्तीमा २०६ जनाको ज्यान जाने गरी भएको हिंसालाई लिएर युरोपेली सङ्घ (ईयू)ले आपत्ति जनाएको छ । ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले बङ्गलादेशमा प्रदर्शनकारीहरूविरुद्ध ‘अत्यधिक’ बल प्रयोग भएको भन्दै मङ्गलवार निन्दा गरेका छन् ।

यस महिना सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा भएको विद्यार्थीहरूको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । प्रहरी र अस्पतालको तथ्याङ्कअनुसार घटनामा प्रहरी अधिकारीहरूको पनि ज्यान गएको छ ।

बोरेलले बङ्गलादेशको हिंसाले निम्त्याएको मृत्यु, यातना,  सामूहिक गिरफ्तारी र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले अनुसन्धान गर्न र जिम्मेवारलाई न्यायको कठघरामा ल्याउन आह्वान पनि गरेका छन् ।

‘कानून प्रवर्तन अधिकारीहरू प्रदर्शनकारी र अन्यविरुद्ध अत्यधिक र घातक बल प्रयोग गरेका थुप्रै उदाहरणका लागि पूर्ण जवाफदेही हुनुपर्छ,’ उनले एक विज्ञप्तिमार्फत भनेका छन्, ‘हामी यस सङ्कटको समयमा जिम्मेवार अधिकारीका कार्यहरू नजिकबाट पछ्याइरहेका छौँ । ईयू–बङ्गलादेश सम्बन्धको आधारभूत कुरालाई ध्यानमा राख्दै सबै मानवअधिकारको पूर्णसम्मान हुने अपेक्षा गर्दछौं ।’

प्रधानमन्त्री शेख हसिनाको १५  वर्षको कार्यकालमा भएकामध्ये यो सबैभन्दा घातक झडपको घटना भएको बताइएको छ । उनको सरकारले विद्यार्थीविरुद्ध गिरफ्तारी, सेना परिचालन र राष्ट्रव्यापी इन्टरनेट कटौतीजस्ता विभिन्न तरिका अपनाएको छ । यसको विश्वभर आलोचना भइरहेको छ ।