केरलामा पहिरो : १३० जनाको मृत्यु, २२० बेपत्ता
- १६ साउन २०८१
- १ मिनेटको पढाई
नयाँ दिल्ली : केरलाको वायनाडमा गएको भीषण पहिरोमा परी अहिलेसम्म १३० जनाको मृत्यु भएको छ। लगभग २२० जना अझै हराइरहेका छन्।
केरलाको वायनाडमा सोमबार राति ४ बस्ती पहिरोले तहसनहस पारेको छ। सोमबार राती २ बजेदेखि मंगलबार बिहान ६ बजेसम्मको पहिरोको चपेटामा मुण्डक्काई, चुरामाला, अट्टामाला र नूलपुजामा गाउँमा निकै क्षति पुगेको छन् ।
हालसम्म ११६ जना घाइतेको उद्धार गरी अस्पताल लगिएको दैनिक भास्करमा उल्लेख छ। उद्धारका लागि सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा छन्। सेनाले राति अबेरसम्म भग्नावशेषबाट १ हजार जनाको उद्धार गरेको छ । रात परेकाले साँझ उद्धार रोकिएको थियो । आजै बिहान फेरि उद्धार कार्य सुरु भएको छ।
कन्नूरबाट २२५ सेनाका जवानहरूलाई वायनाड पठाइएको छ। उद्धारका लागि वायुसेनाका दुईवटा हेलिकप्टर पनि पठाइएको थियो तर वर्षाका कारण काम गर्न नसकी कोझिकोड फर्किएको जनाइएको छ।
त्यस्तै मौसम पूर्वानुमान महाशाखाले बुधबार प्रदेशका ८ जिल्लामा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।