११ मंसिर २०८१, मङ्लबार
26 November 2024, Tuesday

दुर्लभ भ्रमणमा ब्लिङ्केनद्वारा मङ्गोलियासँगको घनिष्ठ सम्बन्धको प्रशंसा

दुर्लभ भ्रमणमा ब्लिङ्केनद्वारा मङ्गोलियासँगको घनिष्ठ सम्बन्धको प्रशंसा

उलनबटार- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन एसियाको १० दिने भ्रमणको अन्त्यमा बिहीबार मङ्गोलिया प्रस्थान गरेका छन । उनले महाशक्तिहरू चीन र रुसबीचको भूपरिवेष्ठित मङ्गोलियासँगको बढ्दो सम्बन्धको प्रशंसा गरे।

दक्षिणपूर्वी एसिया र जापानसहितको उहाँको लामो भ्रमणले सहयोगीहरूलाई अमेरिकी समर्थन बढाउन र यस क्षेत्रमा चीनको प्रभावलाई रोक्न खोजेको छ । यद्यपि वासिङ्टनले बेइजिङविरुद्ध नियन्त्रणको नीति नअपनाएकामा जोड दिएको छ ।

वासिङ्टनका अनुसार गत साता लाओसको राजधानी भिएन्टाइनमा भएको बैठकमा ब्लिङ्केनले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग ‘स्पष्ट र उत्पादक’ आदानप्रदानको क्रममा यो मुद्दा उठाएका थिए।

जापान र फिलिपिन्समा ब्लिङ्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले विशेषगरी दक्षिण चीन सागरमा बेइजिङको ‘उत्तेजना’ का रूपमा वर्णन गर्दै दुवै मुलुकसँगको घनिष्ठ सैन्य र रक्षा सम्बन्धको घोषणा गरे।

बिहीबार उलनबटारमा ब्लिङ्केनले अमेरिकी दृष्टिकोण ‘कुनै एक मुलुकका विरुद्धमा’ नभएकोमा जोड दिए।

“यो साझा दृष्टिकोणका लागि हो जुन हामी भविष्य कस्तो हुनुपर्छ भनेर साझा गर्छौं”, उनले पत्रकार सम्मेलनमा भने, “हो, कुनै पनि मुलुकका लागि आफ्नो निर्णय लिन र भविष्यका बारेमा आफ्नो छनोट गर्न त्यो साझा दृष्टिकोणको हिस्सा स्पष्टरूपमा स्वतन्त्रता हो ।”

केन्द्रीय साझेदार

मङ्गोलिया ३४ लाख जनसङ्ख्या भएको विशाल लोकतान्त्रिक मुलुक हो । यहाँ जुनमा संसदीय निर्वाचन भएको थियो ।

अमेरिकाले ‘जनता–जनताबीच’ आदानप्रदानसहित घनिष्ठ सम्बन्ध विकसित गर्न र मङ्गोलियासँग ‘व्यापक रणनीतिक संवाद’ कायम राख्न चाहेको बताएको छ ।

अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बिहीबार मङ्गोलियाली विदेशमन्त्री बाटमुन्ख बट्टेसेसेगसँग वार्ता गरे । उनले राष्ट्रपति उख्नागिन खुरेलसुख र प्रधानमन्त्री लुभ्सन्नमसरिन ओयुन–एर्डेनसँग पनि भेटवार्ता गरे।

“मङ्गोलिया यस क्षेत्रमा केन्द्रीय साझेदार हो”, ब्लिङ्केनले आफ्ना समकक्षीसँग भने, “अमेरिका र मङ्गोलिया गौरवशाली तेस्रो छिमेकी हुन्, दुवै मुलुक साझा लोकतान्त्रिक मूल्य र साझा हितद्वारा जोडिएका छन् ।”

रुससँग ऐतिहासिक र चीनसँग महत्त्वपूर्ण व्यापारिक सम्बन्ध बनाएको मङगोलियामा वासिङ्टनले आफ्नो प्रभाव बढाउने अपेक्षा गरेको छ ।