भत्काइयो त्रिवि क्रिकेट मैदानको बार
- १९ साउन २०८१
- २ मिनेटको पढाई
काठमाडौं : त्रिभुवन विश्वविद्यालयस्थित त्रिवि क्रिकेट मैदानमा रहेको तारजालीयुक्त बार भत्काइएको छ। मैदानमा बाहिरका मानिस नपसुन् भनेर लगाइएको बार भत्काइएको हो। बाउन्ड्री बढाउनका लागि बार भत्काइएको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी गराए।
अहिले बाउन्ड्री बढाउनका लागि बारहरूलाई केही माथि स्थानन्तरण गरिएको छ। क्रिकेट संघका सचिव पारस खड्काले यसबारे आफैँले अनुमगमन र निरीक्षण गरिरहेका छन्। बर्खायाम लागेसँगै त्रिवि क्रिकेट मैदानमा खेलहरु नहुने भएपछि क्रिकेट संघले अहिले मैदानको स्तरोन्नतिको काम थालेको छ।
पिच स्तरोन्नतिको काम भइसकेको छ भने डिजिटल स्कोर बोर्डका लागि पनि धमाधम भवन निर्माणको काम भइरहेको छ। डिजिटल स्कोर बोर्ड राख्नका लागि बनेको भवनको पहिलो तला ढलान भइसक्यो भने दोस्रो तलाको ढलान गर्नका लागि फर्मा राख्ने अवस्थामा पुगिसक्यो।
डिजिटल स्कोर बोर्ड बनाउन ७ करोड २० लाख रुपैयाँ अनुमानित लागत राष्ट्रिय खेलकुद परिषद्ले राखेको थियो। भवनको कामको ठेक्का पञ्चकन्या हिमालय जेभीले पाएको छ। त्रिवि मैदानकै नेटमा पनि नयाँ पिच बनाउने काम भएको छ। त्यसको लागि अहिले पिचको खाडलमा ढुङ्गा र बालुवा हालिएको छ।
बंगलादेश क्रिकेट बोर्डको सहयोगमा गतवर्ष मूलपानी क्रिकेट मैदान बनाएका क्युरेटर मोहम्मद अब्दुल अल ममुनले नेटमा पिचको काम गरेका छन्। यसका साथै साइड स्क्रिनको पनि स्तरोन्नति गर्ने तयारीमा क्रिकेट संघ देखिएको छ। बेलाबेलामा हावाले साइड स्क्रिन लडाउने गरेकोमा अब त्यसको दीर्घकालीन समाधान खोजिएको लामाले बताए।
‘अहिले भएको साइडस्क्रिन पछि फिक्स गर्ने योजना छ। त्यसलाई पछाडि सार्दै लाइभ गर्न नमिल्ने गरी चलाउन मिल्ने खालको बनाउदै छौं’, उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो मन्त्रिपरिषद् निर्णय गर्दै तीन सय दिनमा त्रिवि क्रिकेट मैदानको स्तरोन्नत्ति गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। उको प्रतिबद्धताअनुसारको कामको सुर भने अहिलेसम्म देखिएको छैन।
फ्लडलाइटको ठेक्का पनि पटक-पटक रद्द हुँदा मैदानमा रात्री खेलको प्रतिक्षामा रहेका खेलप्रेमीसमेत निराश भइसकेका छन्। राखेपले गतवर्ष कात्तिकमा एमएसआईपीएल एएससी पावर जेभीलाई २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा फ्लड लाइट जोड्न ठेक्का दिएको थियो।
तर, आवेदन दिएका अन्य चार कम्पनीले आफूलाई नियतवश फेल गराएको भन्दै उच्च अदालत पाटनमा मुद्दा दिएपछि उक्त ठेक्का रद्द भएको थियो। राखेपले फ्लड लाइटको लागि चैत ११ मा ८२ करोड ६१ लाख अनुमानित लगात राख्दै बोलपत्र आह्वान गरेको थियो। अघिल्लो सातासम्म पाँच कम्पनीले आवदेन दिँदा राखेपले टुङ्गो लगाउन सकेको छैन।