११ मंसिर २०८१, मङ्लबार
26 November 2024, Tuesday

बङ्गलादेशमा प्रदर्शनकारीद्वारा प्रधानमन्त्री कार्यालयमा आक्रमण

बङ्गलादेशमा प्रदर्शनकारीद्वारा प्रधानमन्त्री कार्यालयमा आक्रमण

ढाका : बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गर्दै आन्दोलनमा सहभागी प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय रहेको भवनमा आक्रमण गरेका छन् ।

ढाकामा आन्दोलनमा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिना आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर राख्दै यसअघि नै प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा गएकी थिइन्।

ढाकास्थित एएफपीका संवाददाताका अनुसार प्रधानमन्त्रीको भवनमा हजारौँ बङ्गलादेशी प्रदर्शनकारीले आक्रमण गरेका छन् ।

उनी कहाँ गएकी हुन् भन्नेबारे प्रधानमन्त्री निकट स्रोतले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार उनी ढाकाबाट हेलिकप्टर चढेर ‘अन्यत्र’ गएकी छन्।

बङ्गलादेशको च्यानल २४ ले राजधानीमा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा भीड जम्मा भएको र क्यामेरामा हात हल्लाउँदै खुशीयाली मनाइरहेको तस्बिर प्रसारण गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासभित्र एक हजार ५०० भन्दा बढी मानिस छन् । उनीहरूले फर्निचर भाँचिरहेका छन् भने शिशाहरू तोडफोड गरिरहेका छन् ।

हसिनानिकट एक स्रोतले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, ‘छहत्तर वसन्त पार गरेकी हसिना आफ्नी बहिनीसँग ढाकाबाट ‘सुरक्षित स्थान’का लागि निस्कनुभएको छ । उहाँले ‘भाषण रेकर्ड गर्न चाहनुहुन्थ्यो तर त्यसो गर्ने अवसरसमेत पाउनुभएन ।’