बंगलादेशमा हसिनाको पाटी अवामी लिगका २९ नेता तथा ५० प्रहरीको हत्या
- २३ साउन २०८१
- १ मिनेटको पढाई
ढाका : बंगलादेशमा शेख हसिना प्रमुख रेहेको पाटी अवामी लिगका २९ नेता कार्यकर्ता तथा उनीहरुका परिवारका सदस्यको मृत्यु भएको छ।
अवामी लिग पाटी निकटका नेता तथा कार्यकर्ताको घर तथा सम्पत्तिहरुमा आगजनी लगायतका कार्यहरु गरिएको छ।
२९ जनामध्ये २० जना अवामी लिगका नेता रहेका छन्।
प्रदर्शनकारीहरुले राजधानी ढाका लगायत अन्यत्रका धेरै प्रहरी चौकीमा तोडफोड तथा आगजनी गरेका छन्। जसले गर्दा लगभग ५० जना प्रहरीहरुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुमा बताइएको छ।
प्रदर्शनकारीद्वारा देशभरका ४०० भन्दा बढी प्रहरी चौकीमा आक्रमण भएपछि हाल त्यहाँका प्रहरीहरु हड्तालमा रहेका छन्।
शेख हसिनाले सोमबार राजीनामा दिएपछि देशभरका ४०० भन्दा बढी प्रहरी चौकीमा आक्रमण भएको प्रहरीले जनाएको छ । बंगलादेशमा विद्यार्थीले गरेको आरक्षण विरोधी प्रदर्शनमा पनि धेरै प्रहरीको मृत्यु भएको थियो।
प्रदर्शनकारीले जोशोरस्थित अवामी लिगका नेताको आलिसान होटलमा आगजनी गरेका थिए। त्यहाँ २९ जना जिउँदै जलेका जनाइएको छ।
त्यस्तै ढाकाको धानमण्डीमा चर्चित बंगाली गायक राहुल आनन्दको १४० वर्ष पुरानो घरमा लुटपाट गरी आगजनी भएको जनाइएको छ। आगलागीबाट राहुलको घरमा राखिएका ३ हजार वाद्ययन्त्र जलेर नष्ट भएका सञ्चारमाध्यममा उल्लेख छ।
हसिनाको पार्टी अवामी लिगसँग आवद्ध रहेका अभिनेता शान्तो खान र उनका निर्माता बुबा सलीम खानलाई कुटपिट गरी हत्या गरिएको छ।
हसिनाका बुबा मुजीब-उर-रहमानमा आधारित फिल्म निर्माण गरेका उनी सोमबार घरबाट भागिरहेका समयमा भीडको आक्रमणमा परेका हुन्।