युरोपमा पाए ३३ नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि छात्रवृत्ति
- २४ साउन २०८१
- १ मिनेटको पढाई
युरोपियन युनियनले ३३ नेपाली विद्यार्थीलाई युरोपमा उच्च शिक्षाका लागि छात्रवृत्ति दिएको छ । युनियनले १९ पुरुष र १४ महिलासहित ३३ नेपाली विद्यार्थीलाई शैक्षिक वर्ष २०२४/२५ का लागि दुईवर्षे इरासमस प्लस स्नातकोत्तर कार्यक्रमका लागि पूर्ण छात्रवृत्ति दिएको हो ।
इरासमस छात्रवृत्तिमा छनोट भएका विद्यार्थीहरूले वनस्पति प्रजनन्, विकेन्द्रित स्मार्ट ऊर्जा प्रणाली, स्मार्ट शहर र समुदाय, अग्नि रक्षा इन्जिनियरिङ, कृषि, वातावरण र समाजमा इन्टरनेसनल मास्टर्स अफ साइन्स, भू–जानकारी, ध्वनि तथा कम्पन इन्जिनियरिङ, वातावरणीय संक्रमण, नवप्रवर्तन र दिगोपनलगायतका विषयमा स्नातकोत्तर गर्न लागेका छन् ।
योसँगै युरोपियन युनियनबाट स्नातकोत्तरका लागि दिइने छात्रवृत्तिबाट लाभान्वित हुने विद्यार्थीहरूको संख्या ५ सय नाघेको छ । (इरासमस मुन्डस ज्वाइन्ट मास्टर्स डिग्री) छात्रवृत्ति यो वर्ष १ सय ३७ वटा देशका २६ सय ३ विद्यार्थीहरूलाई प्रदान गरिएको छ ।
यो छात्रावृत्तिले विद्यार्थीहरूले स्नातकोत्तर तहमा केही युरोपियन विश्वविद्यालयहरूमा गएर अध्ययन गर्न पाउनेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको सम्पूर्ण शुल्क, यातायात खर्च तिरिएको हुन्छ र मासिक भत्तासमेत उपलब्ध हुन्छ । युरोपियन युनियनले सन् २०२१ देखि २०२७ सम्म इरासमस कार्यक्रमका लागि बजेट २६.२ अर्ब युरो छुट्याएको छ ।
युरोपियन युनियनले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि २० वर्षभन्दा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ ।