राष्ट्रपतिमा कमला सर्वसम्मत उम्मेदवार बन्दै
- २८ साउन २०८१
- ५ मिनेटको पढाई
अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । यस पटक उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबिच प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रपति जोए बाइडेन चुनावी मैदानबाट पछि हटेपछि डेमोक्रेटिक पार्टीकातर्फबाट कमला चुनावी मैदानमा होमिएकी हुन् । उनको उम्मेदवारीलाई डेमोक्रेटिक पार्टीका सबै नेताले समर्थन गरेका छन् ।
विपक्षी रिपब्लिकन पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रेका ट्रपसँग प्रतिस्पर्धा गर्न बाइडेनलाई कठिन हुने ठहर गरेर उनलाई मैदान छाड्न चर्को दबाब परेको हो । ट्रम्पसँगको बहसमा बाइडेनको प्रस्तुति फितलो भएपछि उनले ट्रम्पलाई हराउन नसक्ने ठानी कमलालाई उम्मेदबार बनाउन पार्टीले तयारी गरेको हो । बाइडेनले आफैं मैदान खाली गरिदिएर कमलालाई समर्थन गरेपछि अहिले सत्तारुढ दल डेमोक्रेटिक पार्टी चुनावप्रति एकढिक्का भएको छ ।
अमेरिकामा अहिलेसम्म महिला राष्ट्रपति बनेको इतिहास छैन । यस पटक भने कमलाले नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ । बाइडेन र कमलाले विगत चार वर्षदेखि अमेरिका हाँक्दै आएका छन् । सन् २०२० को नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीकातर्फबाट राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला विजयी भएका थिए । बाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुन् ।
इन्डियन जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन् । राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैं उनको नाम चर्चामा रह्यो । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारका लागि निरन्तर आह्वान गरिन् । कमलालाई बहादुर योद्धा र अमेरिकाकी सबैभन्दा उत्तम जनसेवकमध्ये एक भन्दै बाइडेनले प्रशंसा गरेका छन् ।
५९ वर्षीया कमला क्यालिफोर्नियाको ओक्लान्डमा जन्मेकी हुन् । उनकी आमा भारतीय पिता जमैकन हुन् । उनले हार्वर्ड विश्वविद्यालमा अध्ययन गरिन्। आफूलाई अमेरिकाको उपराष्ट्रपतिसँगै सिनेटर, कसैकी पत्नी, आमा र अधिकारकर्मीका रूपमा उनले परिचय सार्वजनिक गरेकी छन् । ‘म महिला सङ्घर्षको लामो चरणपछि अमेरिकाको पहिलो उपराष्ट्रपति बनेँ हुँला तर म नै अन्तिम भने होइनँ। हरेक महिला र युवतीले अब देखिरहेका छन् कि यो सम्भावनाहरूको देश हो’, उनले उपराष्ट्रपति जितपछि गरेको पहिलो सम्बोधनले अमेरिकामा महिलाका लागि उच्च पदको ढोका खोलिन सक्छ भन्ने आशाको सन्देश दिएको थियो ।
उनकी आमा श्यामला गोपालन भारतबाट १९ वर्षको उमेरमा अमेरिका गएकी थिइन् । जमैकाका अर्थशास्त्रका विद्यार्थी डोनाल्ड ह्यारिस र भारतकी पोषण तथा हर्मोन सम्बन्धित विषयकी विद्यार्थी श्यामला क्यालिफोर्नियामा विद्यावारिधि गर्दा सन् १९६० ताका भेट भएको थियो ।
अधिकारकर्मी र राजनीतिक चेतना छर्ने अभियानको साझेदारीसँगै उनीहरुले एकअर्कासँग जीवन साटे । जेठी कमला र कान्छी छोरी मायाको जन्मपछि पनि उनीहरुले दुवैलाई सानैदेखि चेतनशील पथमा डोर्याए। स्वरुप कमला उपराष्ट्रपति हुँदै अब राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रेकी छन् ।
४६औँ राष्ट्रपति बाइडेनले बुढ्यौलीका कारण चुनावी मैदान खाली गरेका हुन् । अहिले उनी ८१ वर्षका भए । सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडेन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन् । उनी सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्छन् । बाइडेनले राजनीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौँ मतदाता जन्मिएका पनि थिएनन् ।
उनको वासिङ्टनसँगको नाता सन् १९७३ मा जोडिएको थियो । त्यतिबेला उनी अमेरिकी सिनेटका सदस्य बने । उनी सन् १९८७ मै राष्ट्रपति बन्ने चर्चामा थिए तर प्राविधिक कारणले उनी राष्ट्रपतिको उम्मेदवार बनेनन् । उनी मतदातालाई आकर्षित गर्न सक्ने स्वाभाविक नेता, सक्षम तथा प्रखर सार्वजनिक वक्ता हुन् । मतदातासँगको भेटघाटमा बाइडेन निकै सहजरूपमा प्रस्तुत हुन्छन् ।
बाइडनेले अमेरिकी सिनेटका चुनाव सात पटक जितेका छन् । अमेरिकाका हरेक महत्वपूर्ण घटनाक्रममा बाइडेन या त संलग्न छन् या त त्यसबारे केही टिप्पणी गरेका छन् । बाइडेनकी पहिलो पत्नी नेलिया र छोरीले कार दुर्घटनामा ज्यान गुमाएका थिए । सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दैगर्दा भएको कार दुर्घटनामा उनको पत्नी नेलिया र छोरी नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए । बाइडनका छोरा बोले डेलावेर राज्यका महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए र साथै सैनिक अधिकारीको रूपमा इराकमा खटिएका थिए ।
सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्युमरका कारण उनका छोरा बो बाइडनको निधन भयो । आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडनप्रति सर्वसाधारण अमेरिकीमा सहानुभूति छ । बाइडेनसँग विश्वमञ्चको धेरै अनुभव छ । कूटनीतिक अनुभव उनको बलियो पक्ष छ । उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष भए । आफ्नो ४९ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई उनले भेटेका छन् ।
सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए । अमेरिकाको इराकमा संलग्नताको उनले आलोचना गरे । अलि सतर्क रहन रुचाउने बाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए । सो कारबाहीमा बिन लादेन मारिएका थिए ।
प्रत्येक चार वर्षमा हुने अमेरिकी राष्ट्रपति निर्वाचन नोभेम्बरको पहिलो मङ्गलबार हुने गर्छ । निर्वाचित राष्ट्रपतिले जनबरी २० मा मात्र औपचारिक रुपमा पदभार ग्रहण गर्ने परम्परा छ । यो बीचको समयलाई सत्ता हस्तान्तरण अवधि भनिन्छ । यो अवधिमा निर्वाचित राष्ट्रपतिलाई शासन सञ्चालन गर्ने विधिबारे अभ्यस्त गराइन्छ । सत्ता हस्तान्तरण विधि एउटा प्रशासनबाट अर्कोलाई महत्वपूर्ण सूचना र कर्तव्यको हस्तान्तरण हो । जसले गर्दा निर्वाचित राष्ट्रपतिलाई आफ्ना समूह ह्वाइट हाउसमा पुगेपछि त्यसलाई गति दिन सक्छन् ।
सरकारी निकाय जेनरल सर्भिसेस एड्मिनिस्ट्रेसन (जीएसए) ले आउँदो प्रशासनलाई सहयोग गर्छ । उसले कोष उपलब्ध गराउँछ र कार्यालय, प्रविधि र उपकरण जस्ता कुराहरू सहयोग गर्छ ।
हस्तान्तरण झन्डै ११ हप्तामा पूरा हुन्छ । त्यो सामान्यतया कसले जित्यो भन्ने कुरा स्पष्ट भएपछि सुरु भएर जनबरी २० मा नयाँ राष्ट्रपतिले औपचारिक रूपमा सत्ता सम्हाल्दासम्म जारी रहन्छ । सेन्टर फर प्रेजिडेन्सल ट्रान्जिसनका अनुसार त्यो केवल एउटा पदको हस्तान्तरण मात्र होइन । नयाँ राष्ट्रपतिले चार हजार राजनीतिक पदहरू पूर्ति गर्नुपर्छ । यस अवधिमा तीनवटा मुख्य काम कर्मचारी निर्धारण, विषयगत जानकारी प्रदान र राष्ट्रपति निर्वाचितको व्यस्त तालिकाको निर्धारण गरिन्छ ।
औपचारिक रूपमा हस्तान्तरण सुरु भएपछि त्यो राष्ट्रपति निर्वाचितको समूहद्वारा त्यो प्रक्रिया अघि बढ्छ जसको पूरै चुनावी अभियानभरि तयारी गरिरहेको हुन्छ । चुनावअघि सबै प्रमुख राष्ट्रपतीय उम्मेदवारले राष्ट्रिय सुरक्षाका केही सूचनाहरू पाउँछन् । तर राष्ट्रपति पदममा निर्वाचित उम्मेदवारलाई दिन थालिएपछि जस्तो त्यो नियमित र विस्तृत हुँदैन ।
पद सम्हाल्नुअघि नै निर्वाचित राष्ट्रपतिलाई दैनिक जानकारी गराइन्छ । त्यसमा भविष्यमा आउन सक्ने जुनसुकै विषयमा नयाँ प्रशासनलाई तयार राख्ने सुनिश्चितताको निम्ति निश्चित गुप्तचर सूचनाहरू पनि पर्छन् ।
कर्मचारीको निर्धारण र नीति परिवर्तनमा सहयोगको निम्ति सामान्यतया बैठकहरू सरकारी निकायका बहालवाला सदस्यहरूसँगै आयोजना गरिन्छ । प्रमुख सदस्यहरूले आफ्नो नयाँ भूमिकाको तयारीका निम्ति बहिर्गमन हुन लागेका कर्मचारीका कामहरूलाई पछ्याउने गर्छन् ।
राजनीतिक नियुक्ति हुने चार हजार पदमध्ये एक हजार दुई सय पद सिनेटको अनुमोदन आवश्यक हुन्छ । हस्तान्तरण प्रक्रियाका क्रममा उनीहरूको पृष्ठभूमि जाँचमा सरकारले सघाउँछ ।
सरकारी अधिकारीहरूसँगको छलफलका साथै हस्तान्तरण समूहले सामान्यतया निर्वाचित राष्ट्रपति र विदेशी नेताहरूबीच संवादको आयोजना गर्न विदेश मन्त्रालयसँग समन्वय गर्छ । निर्वाचित राष्ट्रपति दम्पतीलाई ह्वाइट हाउसको भ्रमण गराएर त्यहाँको आन्तरिक साजसज्जाबारे उनीहरुको रुचिबारे सोध्ने गरिन्छ । तर त्यो कानुनी प्रावधानभन्दा पनि परम्परा हो ।
जीएसएले निर्वाचित राष्ट्रपति बाइडेनको समूहको निम्ति कोष र अन्य स्रोतहरू उपलब्ध गराएको छ । अमेरिकी कानुनअनुसार जीएसएले ’स्पष्ट विजेता’ भएपछि हस्तान्तरण थाल्नुपर्छ तर त्यसको मिति निश्चित छैन । सत्ता हस्तान्तरणका क्रममा हुने खर्च सरकारी रकम र निजी कोषबाट बेहोर्ने गरिन्छ । जीएसएले निर्वाचित राष्ट्रपतिलाई मान्यता दिएपछि सङ्घीय कोषबाट करिब ७० लाख डलर निकास हुन्छ । यो सामान्यतया निर्वाचित राष्ट्रपतिले सङ्कलन गरेको कोषबाट परिपूर्ति गरिन्छ ।
बीरेन्द्र जंग के.सी, अध्यक्ष, अन्तर्राष्ट्रिय स्याङजा सहयोग समाज
ताजा खबर
अफगानी किशोरीलाई ‘किड्स राइट्स प्राइज’ पुरस्कार
- ०६ मंसिर २०८१
नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड
- ०६ मंसिर २०८१
गौतम अडानीमाथि अमेरिकामा ठगी र घुसखोरीको आरोप
- ०६ मंसिर २०८१
ट्रेन्डिङ
सम्बन्धित खबर
छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट
- ३० कार्तिक २०८१
- ५ मिनेटको पढाई
दैवी प्रकोपले पुनःसिकाएको पाठ र आगामी बाटो
- १८ अशोज २०८१
- ५ मिनेटको पढाई
ह्याप्पी तीज
- २३ भदौ २०८१
- ३ मिनेटको पढाई
भ्रष्टाचारी सरकारविरुद्ध आक्रोशित युवा
- १४ भदौ २०८१
- ४ मिनेटको पढाई