अमेरिका लैजाने प्रलोभनमा इथियोपिया जेलमा ! नेपालीलाई भिसामा कडाइ
- ३० साउन २०८१
- १ मिनेटको पढाई
काठमाडौं । मानव तस्करहरूले नेपालीलाई अनेक प्रलोभन देखाई अमेरिका लैजाने बहानामा अफ्रिकी राष्ट्र इथियोपिया पुर्याइ अलपत्र पार्ने गरेको पाइएको छ ।
ल्याटिन अमेरिकी राष्ट्र हुँदै अवैध तरिकाले अमेरिका प्रवेश गराइदिने प्रलोभन देखाइ उनीहरूलाई इथियोपिया पुर्याइ अलपत्र पार्ने गरिएको हो । अमेरिका प्रवेश गराइदिने बहानामा मानव तस्करहरूले नेपालीसँग मोटो रकम असुल्ने गरेका छन् ।
“मानव तस्करले केही नेपालीलाई इथियोपियामा ल्याई अलपत्र पारेका छन्,” इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले भने, “उनीहरूलाई ल्याटिन अमेरिकी राष्ट्र हुँदै अवैध तरिकाले अमेरिका छिराउने बहानामा इथियोपिया ल्याइएको बुझिएको छ ।”
इजिप्टको कायरोस्थित नेपाली दूतावासले इथियोपिया पनि हेर्ने गर्छ । मानव तस्करले अलपत्र पारेपछि इथियोपियाबाट केही नेपालीले उद्दारका लागि इजिप्टस्थित नेपाली दूतावासमा सम्पर्क गरेका छन् ।
इथियोपियाले नेपालीलाई सजिलै ९० दिनको भिसा दिने गरेको छ । यसैको फाइदा उठाउँदै मानव तस्करले नेपालीलाई भारत र युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई हुँदै नेपालीलाई इथियोपिया पुर्याउने गरेको राजदूत लम्सालले बताए ।