इटालीमा आँधीका कारण डुङ्गा डुब्दा १ जनाको मृत्यु, ६ बेपत्ता
- ०३ भदौ २०८१
- १ मिनेटको पढाई
इटालीमा डुङ्गा डुब्दा १ जनाको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता भएका छन् ।
सिसिलीको तटीय क्षेत्रमा आएको आँधीका कारण पर्यटनका लागि प्रयोग गरिने एक आरामदायी डुङ्गा डुब्न पुगेको थियो ।
उद्धारकर्मीले बेपत्ता भएका अन्य ६ जनाको खोजी गरिरहेको अधिकारीहरूले बताएका छन् ।
इटालियन कोस्ट गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोमबार बिहान ५ बजेको समयमा हिंसात्मक आँधी-बेहरीपछि बेलायती ध्वजाबाहके बायेसियन नामक ५६ मिटर लामो डुङ्गा पोर्टिसेलो नजिकै डुबेको छ ।’
सामुद्रिक तटीय क्षेत्रमा सुरक्षार्थ तैनाथ गरिएका कोस्ट गार्डका अनुसार हेलिकप्टरको सहयोगमा उद्धारकर्मीले सोमबार एक जनाको शव फेला पारेका छन् । बेपत्ता अन्य छ जनाको खोजी भइरहेको छ ।
यद्यपि, सेनाका प्रवक्ताले एएफपीसँग भने, ‘पानीभित्रको करिब ५० मिटर गहिराइमा भग्नावशेषमा एउटा शव देखिएको तर त्यसलाई अझै पानी बाहिर ल्याउन सकिएको छैन ।’
यसअघि कोस्ट गार्डले चार जना बेलायती, दुई जना अमेरिकी र एक जना क्यानेडियन नागरिक हराइरहेको बताएको थियो ।
कसको शव फेला परेको हो भन्ने बारे तत्काल केही खुल्न सकेको छैन ।