१ असार २०८२, आइतवार
15 June 2025, Sunday

डाक्टर मोमिता काण्ड, मुटु काप्ने घटना

डाक्टर मोमिता काण्ड, मुटु काप्ने घटना

न्युयोर्क- वर्गीय संवेदनाले छुनलाई भूगोलको सीमाले छेक्दो रहेनछ। छेकेन ।

हरेक छोरीलाई तथा छोरीका बा आमालाई मात्रै नभई हरेक मान्छे हुँ भन्नेलाई ज्यानमा काँडा उम्रे होलान् भारतमा भएको अहिलेको घटना सुन्दा। जीउमा सर्प हिँडे जस्तो सिरींग भयो होला । मुटु फुलेर छातिभरि भए जस्तो होला । मलाई जस्तै अरुलाई पनि के गरुँ कसो गरुँ जस्तो अत्यन्तै पीडा भयो होला।

सामाजिक पछिल्लो समय निकै चर्चामा रहेको एक घटना जो कोहिले देख्नु र सुन्नुभएकै छ होला । भारतमा केही दिनअघि डाक्टर पढ्दै गरेकी मोमितालाई सामूहिक बलत्कार गरेर विभत्स हत्या गरियो । त्यसो त नेपालमा पनि त्यस्ता घटना हजारौँ भइरहेका छन् । निर्मला पन्त लगायतका घटनाले दुखाउन छोडेको छैन । मुटु थिचिरहेकै छ । यस्ता घटनाले कसको मुटु नदुख्ला र।

शास्त्रमा पढेका सुनेका राक्षसहरू पनि यति सारो क्रूर भएको सुनेकी छैन मैले । ऐलेका राक्षसहरूका सिंग र दाह्रा हुँदैनन् । बाहिरबाट देखिन्नन् । तर भित्रबाट महाराक्षसीपन बोकेर हिँडिरहेका हुने रहेछन् ।

समाजमा पहिलेदेखि नै छोरीलाई सहन सिकाइयो । कोमलता र सहनशीलका शुशिलाको नामले सिँगारियो । सुन्दरताको पगरी दिएर त्यसैमा रमाउन सिकाइयो। त्यही मनोविज्ञानले विगतदेखि नै महिला तथा बालबालिकाहरु कमजोर भइरहेका छन् । बिस्तारै अहिले छोरीहरुलाई शिक्षाले बलियो बनाउनुपर्ने चेतना छोरी तथा उनका परिवारलाई लाग्दै गयो। सबैले छोरीहरुलाई पढाएर राम्रो स्थान पुर्‍याउने सपना देख्न थाले। मोमिताको अभिभावके पनि आफ्नी छोरीलाई डक्टर भएको र राम्रो नाम दाम कमाएर आत्मनिर्भर भएको हेर्ने रहर बाँधे। तर महिला भएकै कारणले सक्षम डाक्टर मोमिताले पनि कल्पना नै गर्न नसकिने पीडा सहितको मृत्यु सहन पर्‍यो।

एउटी महिला भएकै नाताले मलाई यो घटनाको कल्पना मात्रले पनि विचलित बनाउँछ मलाई।

तुलनात्मक रुपमा विकसितभन्दा विकासशील मुलुकमा यस्ता घटना धेरै हुन्छन्। यस्ता घटना नदोहोरिन विकसि तथा कम विकसित मुलुकहरुमा सामान्यतया दुई कुरा हुनुपर्छ भन्ने मलाई लाग्छ । पहिलो संस्कार र अनुशासन, दस्रो कडा कानुन । एशियाली मुलुकहरूमा यी दुई कुरा नै कमजोर देखिन्छन् । न हामी संस्कार दिन सक्षम छौं आफ्ना छोराछोरीलाई न राज्यमा कडा कानुन छ ।

जसलाई पर्‍यो पर्‍यो भएको छ । छोरीहरु गर्भमा त सुरक्षित छैनन् भने बाहिर कहाँ होलान् र ? वास्तवमा छोरी भएर जन्मनु नै अभिषाप जस्तै भएको छ धेरै अवस्थामा । यस्ता घटनाले समाजमा पीडक मानसिकता जन्मिन सहयोग गर्छ। समस्त पुरुष जातप्रति नै महिलामा घृणा पैदा हुने सम्भावना रहेको छ। एउटी युवा अवस्थाकी छोरीले भनिन्, ‘त्यो घटना सुनेर त केटीहरूले पनि केटाहरूलाई त्यसरी नै रेप गरेको देख्न पाए !’

उनको कुरा सुनेर म झसङ्ग भएँ! लाग्यो । यस्तो भावना पैदा हुनु सहि त हैन । तर मान्छे जब ज्यादै अन्यायमा परेको अनुभव गर्छ उसमाा अपराधिक मानसिकता बढ्न जान्छ। यसको प्रमुख जिम्मेवार भनेको राज्य नै हो।

रामले सुपर्णखाको छाँया मात्र हेरे अनुहार हेरेनन् । रावणले सीता हरण गर्यो तर छुन सकेन । एउटा मर्यादामा बस्यो । तर ऐलेका मान्छे सिमा रहित अपराध गर्दैछन् । राज्यले कारवाही गर्दैन । अपराधी उन्मुक्त हिँडिरहेका छन् । मोमिता भारतकी छोरी भए पनि पीडा सबै छोरीलाई भएको छ । तीमध्ये एउटा अपराधीलाई निजकै बाउले घनले टाउकामा हानेर मारी पनि सकेछन् । यो पनि कल्पना बाहिरको कुरा हो। एउटा बाउलाई कति पिडा भयो होला आफ्नो छोरो मार्न। नालायक छोरा भएकोमा उनी कति लज्जा बोध गर्दै होलान्।

जतिसुकै तन्त्रका पाठ पढे पनि छोरीहरू निर्धक्क हिँड्न सक्ने अवस्था छैन । घरदेखि कार्यालय वा कुनै पनि ठाउँ सुरक्षित छैन । त्यसैले छोराको तुलनामा छोरीको जन्म कम हुन थालेको छ । छोराहरू १२० जन्मँदा छोरी १०० जना जन्मने गरेका तथ्याँकले भन्छ । यसले अबका २० वर्षमा केटाले विवाहका लागि केटी पाउन मुस्किल पर्छ।

यस्तै पीडा भोग्न नपरोस् भनेर धेरै अभिभावक छोरी पाउन चाहन्नन् । हरेक कारणले आमाहरू छोरीभन्दा छोरा जन्माउँदा गर्व गर्छन् । एउटा कारण यो पनि हो । छोरा जन्माएर मात्रै भएन । छोराहरुमा उचित संस्कारको खाँचो देखिएको छ । भन्न त भनिन्छ, छोरीलाई अधिकार बढी भयो । तर कहाँ बढी भयो मैले देखेको छैन । एकादुई अपवादलाई हेरेर नजिर बनाउन हुँदैन ।

अब सबै छोरी झाँसीकी रानी जस्तै बलवान पनि बन्नुपर्ने बेला आएको छ। गलत नजरले हेर्नेलाई प्रतिकार गर्न उसले अरुलाई गुहार्न नपरोस्। कि हरेक छोरीले हतियार बोकेर हिँड्नुपर्ने भयो कि कडाभन्दा कडा कानुनको निर्माण गर्नुपर्‍यो । नभए यस्ता घटना दोहोरिने तेहेरिने हुन्छन् । कि छोरी जन्माउन बन्द गर्नुपर्‍यो । आफ्नी छोरीको बलात्कार नभइ पिडा अनुभूति नगर्नु पनि राक्षसीपन नै हो ।

त्यसैले निर्मला पन्त र मोमिता जस्ता छोरीहरूको जस्तो दुर्दशा कोही छोरीहरुको सुन्न नपरोस् । यो हृदयविदारक घटनाले पृथ्वी पनि काँपेको होला । छोरीलाई कमजोर बन्ने सँस्कार नदिनुहोला । दुर्गा नै हुन् काली र चण्डि बन्ने पनि । महिसासुरको बध गर्ने पनि । छोराहरुलाई राम बनाउने कि रावण या महिसासुर यसको जिम्मेवार हरेक बा आमा, समाज र राज्य हुनैपर्छ । यसो भनिरहँदा छोरीलाई सुर्पणखा बनाउनुस् भनेको पक्कै हैन ।

मोमिताले न्याय पाएको सुन्न पाइयोस् । न्याय त के होला र ! ज्यान गइ नै सक्यो । अपराधीहरू सबैलाई मृत्यु दण्ड दिइयोस् । भगवानले बा आमालाई सहन सक्ने क्षमता प्रदान गरुन्।