पहिरोमा परी दुई जनाको मृत्यु, एक घाइते
- ०९ भदौ २०८१
- १ मिनेटको पढाई
मन्थली (रामेछाप), ९ भदौः दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुषको मृत्यु भएको हो । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन ।
सो गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिनुभएको जानकारीअनुसार गएराति पहिरो खसेको हो ।
घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ ।