११ मंसिर २०८१, मङ्लबार
26 November 2024, Tuesday

इथियोपियाले एकैदिन ६० करोड १५ लाख वटाभन्दा धेरै बिरुवा रोपेर रेकर्ड बनायो

इथियोपियाले एकैदिन ६० करोड १५ लाख वटाभन्दा धेरै बिरुवा रोपेर रेकर्ड बनायो

इथियोपियाले गएको शुक्रवार एकैदिन ६० करोड वटाभन्दा धेरै बिरुवा रोपेर रेकर्ड बनाएको छ । गत वर्ष इथियोपियाले एकैदिन ५६ करोड वटा बिरुवा रोपेर रेकर्ड बनाएकोमा अहिले आफ्नै रेकर्ड तोडेको हो । रुख रोप्ने देशव्यापी अभियानअन्तर्गत गएको शुक्रवार १२ घन्टामै ६० करोड १५ लाख वटा बिरुवा रोपिएको इथियोपियाका प्रधानमन्त्री डाक्टर अवि अहमदले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बिरुवा रोप्न बालबालिकादेखि वृद्धवृद्धासम्मले देखाएको उत्साहलाई उनले धन्यवाद पनि दिए। ‘जुन देशले बिरुवा रोप्छ, त्यसले अर्को पुस्ता दीगो बनाउँछ’ भन्ने नाराकासाथ इथियोपियाले हरित अभियान चलाइरहेको छ । यो वर्षाको मौसममा इथियोपियाले दुई लाख हेक्टर जमिनमा सात अर्ब ५० करोड वटा बिरुवा रोप्ने लक्ष्य राखेको छ ।

कृषि मन्त्रालयले जैविक विविधतालाई बढावा दिँदै माटो र पानीको संरक्षण बढाउने दोहोरो लक्ष्यका साथ आ–आफ्नो क्षेत्रको पारिस्थितिक अवस्थासँग मेल खाने गरी बिरुवा छनोट गरेको जनाएको छ ।  देशभरका एक लाख २० हजार वटाभन्दा धेरै नर्सरीले बिरुवा तयार पारेका छन्, जसमध्ये ५६ प्रतिशत खाद्य र फलफूलका प्रजाति र बाँकी वन विकास र वातावरणीय संरक्षणमा आधारित छन् ।

सन् २०१९ मा इथियोपिया सरकारले ५० अर्ब वटा बिरुवा रोप्ने लक्ष्यसहित हरित अभियान शुरु गरेकोमा यो वर्षसम्म ४० अर्ब वटा पुग्ने जनाएको छ । झन्डै १३ करोड जना जनसङ्ख्या रहेको इथियोपियाले बाढी, माटोको कटान, वन विनाश र जैविक विविधताको क्षति लगायतका जलवायु परिवर्तनका चुनौतीको सामना गर्नुपरेको छ । यसलाई कम गर्न बिरुवा रोप्ने राष्ट्रिय अभियान चलिरहेको हो ।