स्क्यानर प्रयोग गरेर गाजाका सुरुङको नक्सा बनाउँदै अमेरिका !
१० भदौ २०८१
२ मिनेटको पढाई
३१ जनवरी, २०२४ मा अमेरिकी र इजरायली गुप्तचर एजेन्सीले यस्तो योजना बनाएका थिए, जसले गाजामा चलिरहेको इजरायल–हमास युद्ध अन्त्य गर्न सक्थ्यो । त्यो खोजी अरु कसैको नभएर मोस्ट वान्टेड व्यक्ति र गाजामा हमासको नेतृत्व गरिरहेका याह्या सिनवारको थियो ।
इजरायली विशेष सैन्य टुकडी दक्षिणी गाजाको एउटा सुरुङमा पुग्छ । अमेरिकी र इजरायली गुप्तचर निकायलाई याह्या सिनवार दक्षिणी गाजाका सुरुङमा लुकेको सुराक प्राप्त भएको थियो ।
कमाण्डोहरू पूरै तयारीसहित गाजाको सुरुङमा पुग्दा उनी त्यहाँबाट भागिसकेका थिए । इजरायली कमाण्डोले याह्या सिनवारले छाडेका केही कागजात र करिब ८ करोड बराबर इजरायली मुद्रा मात्रै भेट्छन् ।
सिनवारले नै गत वर्षको ७ अक्टोबरमा इजरायलमाथिको हमलाको योजना बनाएका थिए । उनी गत महिना हमासमा प्रमुख इस्माइल हानियाको हत्यापछि हमासको प्रमुख बनेका छन् । हमास शीर्ष नेतामध्ये एक सिनवारलाई इजरायलले केहीपटक हत्या गर्ने वा पक्राउ गर्ने कोसिस गरे पनि हरेकपटक असफल हुँदै आएको छ ।
सिनवारले युद्धका क्रममा विद्युतीय सञ्चार प्रणाली प्रयोग गर्न छाडेका छन् । उनी जरुरी सूचनाका लागि समेत चिठीको प्रयोग गर्छन् । तर उनले पठाउने यस्तो मानव कुरियर सिस्टम पनि कसरी सञ्चालन हुन्छ भन्ने कुनै जानकारी छैन । इजरायली र अमेरिकी गुप्तचर निकायलाई समेत उनको सूचना प्रणाली रहस्यमयी बनेको छ ।
उनको यो प्रणालीलाई आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा बिन लादेनसँग तुलना गर्न थालिएको छ । लादेनले अमेरिकामा ट्वीन टावर हमलापछि सन्देश एक स्थानबाट अर्को स्थानमा पुर्याउन प्लेबुक बनाएका थिए ।
यसैको प्रयोग गरेर उनी लामो समय अमेरिकाको आँखाबाट बच्न सफल भएका थिए । यस्तो प्लेबुकमा उनीहरूको गोप्य स्थान, काम गर्ने तरिका र संगठनका शीर्ष नेताको जानकारी हुन्थ्यो ।
याह्या सिनवारले पनि गाजामा यस्तै प्लेबुक प्रयोग गर्न थालेका छन् । कतार र इजिप्टमा युद्धविरामबारे भइरहेको छलफलमा सहभागी हमासका प्रतिनिधिले पनि याह्या सिनवारको अनुमति प्राप्त भएपछिमात्रै सम्झौताबारे कुनै निष्कर्षमा पुग्नसक्ने बताएका छन् ।