२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

नेपथ्यको कन्सर्टमा झुम्यो डालास

नेपथ्यको कन्सर्टमा झुम्यो डालास

डालास (टेक्सास)-  ‘टिकट सबै बिक्री भइसकेको छ’,  कन्सर्टको दिन बिहान अनलाइनबाट टिकट काट्न खोज्ने दर्शकहरूले अनलाइन टिकट व्यवस्थापन गर्ने ‘लाइभ नेसन’ को साइटमा यस्तो सन्देश देखे। उता चार हजार दर्शक क्षमताको टोयोटा म्युजिक फ्याक्ट्रीमा नचिताएको उपस्थिति देखेर हेर्न जाने सबै चकित परिरहेका थिए।

‘अदभुत !’ आश्चर्यमा परेकी इशु पोखरेल भन्दै थिइन्- ‘अमेरिकाको एउटै स्थानमा एकै छत. मुनि एकसाथ यति धेरै नेपाली देखेकै आज सम्मकै मेरो पहिलो अनुभव हो।’ युनिभर्सिटी अफ टेक्सासकी विद्यार्थी इशु छ वर्षको उमेरमा आफ्ना अभिभावक साथ अमेरिका आएकी हुन्, जो शनिवार आमाका साथ कन्सर्ट हेर्न उपस्थित थिइन्।

‘आमामात्र होइन मामाघरको हजुरआमालाई समेत मन पर्ने ब्यान्ड हो नेपथ्य,’ उनले भनिन्- ‘नेपाली कार्यक्रमहरू मध्ये आजसम्मकै सबैभन्दा उत्कृष्ट अनुभव मेरो यही बन्न पुग्यो।’

निर्धारित समयमा ठ्याक्कै सुरु गर्ने ब्याण्डको नीति अनुसारै बेलुकी ठीक साढे आठ बजे मञ्चमा बज्न थालेको नेपथ्यका लोक–रक भाकाहरू लगातार दुई घण्टासम्म चलेको थियो। गीतको तरङ्गसँगै विशाल हलभित्रको भीडमा मानिसका टाउकाहरू पनि लहरजस्तै बगेका देखिन्थे।

‘कोशीको पानी यो जिन्दगानी’, ‘शिरफूल शिरैमा’, ‘नैनताल’ र ‘पचासै वर्षमा’ जस्ता नयाँ गीतहरूको समेत प्रस्तुति रहेको कार्यक्रममा, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘रेशम’, ‘तालको पानी’ लगायत नेपथ्यका सार्वकालिक हिट गीत पनि प्रस्तुत गरिएको थियो। नयाँ पुराना सबै गीतमा गायक अमृत गुरुङलाई पूरा हलले कोरसले झैँ साथ दिएको थियो। कन्सर्ट सकिएपछि पनि दर्शकहरूमा उत्साहको लहर कायमै थियो।