न्युयोर्क- खासगरी अमेरिकामा बसोबास गर्ने अधिकांश नेपाली परिवारका समस्या स-साना छन्। ती स-साना समस्याले निरन्तरता पाएपछि विशाल रुप लिन्छ र परिवार विखण्डनतिर उन्मुख हुन्छ। परिणामस्वरुप, यस्ता समस्याले अपराधिक रुप धारण गर्न सक्छन्।
पहिलो समस्या पुरुषमा भएको पृतिसत्तात्मक सोचको धङधङी नै हो। अमेरिका आइसकेपछि जे जस्तो भए पनि श्रीमान श्रीमती दुबैले काम गर्नु पर्ने हुन्छ। अझ बालबच्चा छन् भने काम गर्नका लागि समय तालिका मिलाउनु पर्ने हुन्छ। अमेरिकामा चाहे कुर्चीमा बसेर काम गर्नुस् वा स्टोरमा दुबैमा उत्तिकै स्ट्रेस हुन्छ। अझ स्टोरमा काम गर्दा शारीरिकरुपमा पनि बढि नै थकान हुन्छ। जब अर्थोपार्जन गर्ने काम माथि घरको काम पनि थपिन्छ त्यसले थप तनाव सिर्जना गर्छ। यसलाई प्राय नेपाली परिवारले उचित व्यवस्थापन गरेको पाइँदैन। केही सामान्य उदाहरणहरू पेश गर्छु।
श्रीमानश्रीमती दुबैले काम गरेर घर फर्कन्छन्। त्यसपछि पनि श्रीमतीसँग घरका थप काम हुन्छन्। प्राय श्रीमान आराम गर्ने र श्रीमतीले पकाएको खाना पर्खने गर्छन्। घरमा खाना पकाउने मात्रै काम हुँदैन। कामका केही उदाहरणहरु हेरौं। खाना पकाउने, घर सफा गर्ने, खानाको लागि ग्रोसरी सपिङ् गर्ने, ट्वाइलेट सफा गर्ने, आफ्नो बेड मिलाउने, कपडा धुने, भाडा माझ्ने, किचन सफा गर्ने, साना छोराछोरी छन् भने उनीहरूको रेखदेख गर्ने, उनीहरूलाई पढाउने, नुहाइदिने, उनीहरूका कपडाको व्यवस्थापन गर्ने लगायतको लामो लिस्ट तयार हुन्छ।
साथै छोराछोरी स्कूल जाने भैसकेका छन् भने बिहानै उनीहरूलाई तयार गर्ने, ब्रेकफास्ट खुवाउने, स्कूलको लन्च खाँदैनन भने बनाउने र झोलमा राखिदिने, स्कूल समयमा पुर्याउने र लिन जाने थप काम हुन्छ।
यसका अतिरिक्त अमेरिकामा सबैजसो आर्थिक कारोबार अनलाइनबाट गरिन्छ। केही थप उदाहरणहरु हेरौं। क्रेडिट कार्ड छन् र त्यसको प्रयोग भएको छ भने समयमै बैंकलाई बुझाउनु पर्ने मिनिमम पैसा बुझाउँदै जाने, बैक एकाउन्टलाई सुरक्षित राख्ने, घर किनेको छ भने महिनामा बुझाउनु पर्ने बैंकको मोर्डगेज समयमै बुझाउने, एचओए शुल्क छ भने त्यो बुझाउने, घरको बिजुली, पानी, ग्यासको महसुल समयमै बुझाउने, स्वास्थ्य बिमाको महिनाको फी, गाडीको घरको बिमा शुल्कलगायत लामो लिस्ट तयार हुन्छ। यी शुल्कलाई अटो पेमेन्टमा राख्न त सकिन्छ। तर धेरै स्क्याम हुने भएकोले यी सबैको नियमित अनुगमन जरुरी हुन्छ।
अर्थोपार्जनका लागि गरेको कामले थलिएको ज्यानले यी सबै काम गर्दा मानसिकरुपमा थप तनाव थपिन्छ। यस्ता तनावको व्यवस्थापन गर्नका लागि कामको विभाजन र एकआपसमा सहयोग अत्यन्तै अनिवार्य आवश्यकता हो।
तर दुर्भाग्यवस श्रीमानश्रीमतीमा यस्ता कामको उचित विभाजन र सहयोग कमै पाइन्छ। जस्तो कि प्राय महिलाहरू बाहिर काम सकाएर घर फर्कंदा सिङ्कमा थुप्रेका भाँडा माझ्न कम्मर कसिहाल्नु पर्छ। पकाउनका लागि अघि सर्नै पर्ने हुन्छ। घर सफा गर्न र माथि उल्लेखित कामका लागि सधैँ तत्पर भैराख्नु पर्ने हुन्छ। कामले सिकिस्त महिला सानासाना गुनासा गर्नु स्वभाविक नै हो।
त्यसमाथि प्राय पुरुषको घरको व्यवहार हेरौं।
घरमा श्रीमति भ्याकुम गर्छिन्। डाइनिङ् टेवल सफा गर्छिन्। ट्वाइलेट सफा गर्छिन्। छोराछोरीका कपडा मिलाउँछिन्। पुरुष सफा गरेको ट्वालेटमा उभिएर पिसाब गर्दिन्छ। ट्वाइलेटको वरिपरि पिसाबका बाछिटा छोडर लाजै नमानि हिँडिदिन्छ। भ्याकुम गरेको घरमा पुरुषले खाना वा अन्य चिज पोखेमा त्यसै छोड्छ वा श्रीमतीलाई सफा गर्न लगाउँछ। भर्खर सफा गरेको डाइनिङ् टेबलमा खाना खान्छ अनि थाल त्यहीं छोड्छ,टेबलमा पोखिएको खाना सफा गर्ने त कुरै छोडौं। घरमा बालबच्चाले छरेका कपडाको व्यवस्थापन गरिदिन्न् बरु भुँइमा देख्यो भने त्यसलाई कुल्चँदै हिँडिदिन्छ।
थप अरु पनि भन्छु है।
महिला बालबच्चाका कपडा, किताब, उनीहरूले लगाउने मोजा सबै एक स्थानमा खोजेको समयमा पाउने गरी राख्छन्। पुरुष ती नै चिज कहाँ छन् भन्दै श्रीमतीलाई सोध्छ। महिला भर्खर बेड मिलाउँछिन् पुरुष त्यही मिलाको बेडमा पल्टिन्छ अनि भद्रगोल पारेर छोड्छ।
सकेको काम जस्तो कि कम्तिमा घर, किचन, ट्वालेट, सफा गर्ने बालबच्चाका किताबहरू व्यवस्थित गर्ने, समय हुँदा सिङ्कमा भएका भाँडा सफा गर्ने हो भने पनि महिलाले गर्ने घरका काम सहज हुन्छ। कम्तीमा पनि खाना खाँदा सफा गरेको टेबलमा दाल पोखियो वा फोहर भयो भने सफा गरिहाल्ने बानी चाहे श्रीमान होस वा श्रीमती दुबैमा हुनु पर्छ।
यदि श्रीमती कम्युटर वा अनलाइनका काममा पोक्त छैनन् भने उनलाई सहयोग गर्नु श्रीमानको कर्तव्य हुन आउँछ। अनि श्रीमान पोक्त नभए श्रीमतीको।
माया के हो?
मायाको पहिलो सर्त सहयोग हो। श्रीमान वा श्रीमती जोहोस् बिरामी छ भने डाक्टरको खोजी गर्ने, एपोइन्टमेन्ट लिने, डाक्टरसँग कन्सल्ट गर्ने, थप उपचारको आवश्यकता पर्यो भने प्रबन्ध मिलाउने, डाक्टरको कन्सलटेसनमा आफू जान नपाएमा उपचारका क्रममा भएको छलफलका बारेमा अपडेट हुने कुराबाटै माया देखिन्छ। साथै बिरामी भएको अवस्थामा थप घरका काममा सहयोग गर्नु पर्ने हुन्छ।
मायामा शारीरिक सम्बन्धको कुरा पनि प्रत्यक्ष जोडिएर आउँछ। प्राय: नेपाली समाजमा शारीरिक सम्बन्ध पुरुषले चाहेमा जतिबेला पनि महिला तयार हुनु पर्ने भन्ने सोचले ग्रसित छ। श्रीमती बिरामी हुँदा पनि सम्बन्ध राख्न चाहने वा राख्ने पुरुषहरू कति होलान्। लाज मान्ने गरम्, सेक्स एक्लैले मज्जा लिने कुरा होइन। श्रीमतीको पीडा नबुझी जबरजस्ती गरिन्छ भने त्यो सेक्स होइन, बलत्कार हो। सेक्स भनेको दुबैको आवश्यकता हो। दुबैको बराबर आनन्दको अधिकार हो। यो सबैले बुझ्न जरुरी छ।
साथै सम्बन्धमा ससुराली वा घरतिरका सासूससुरा लगायतका परिवारका पनि कुरा गाँसिएर आउँछन्। यी दुबै पक्षबाट छोरीज्वाइँ र छोराबुहारीको जीवनमा आवश्यकताभन्दा बढी चासो र हस्तक्षेप भएमा त्यसले थप समस्या सिर्जना गरिदिन्छ। त्यसबाट बच्नका लागि श्रीमानश्रीमती दुबैले आफ्ना आमाबुवालाई आघात नपर्ने गरी रणनैतिकरुपमा उहाँहरुको व्यवस्थापन गर्नु पर्ने हुन्छ। आमाबा पुजनीय बुबाआमा हुन्छन् तर आमाबाकै कारणले सम्बन्धमा समस्या आएका थुप्रै उदाहरण समाजमा छन्।
यी सबै समस्याा आपसी समझदारीमा समाधान हुने विषय हुन्। यी विषयलाई गम्भीरताका साथ लिएर अघि बढे सम्बन्ध सुमधुर हुने छ।