धेरै लुकाउनुपर्ने कुरा छैन, ओलीजी र मबीचको सहमति रामेश्वरजीले गराउनु भएको हो : सभापति देउवा
- १५ भदौ २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र कांग्रेसबीच सहमति गराउन क्याप्टेन रामेश्वर थापाको विशेष भूमिका रहेको बताएका छन् ।
शनिबार काठमाडौंको स्वयम्भूमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अंग्रेजी पुस्तक ‘इन्टु द फायर’को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र आफूबीच सहमति गराउन भूमिका खेलेको बताए । उनले क्याप्टेन थापालाई धन्यवाद पनि दिएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार काठमाडाैँकाे हलचोकमा आयोजित क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इनटू द फायर’ पुस्तक विमोचन कार्यक्रममा मन्तव्य राख्दै । तस्बिर : प्रदीपराज वन्त / रासससभापति देउवाले क्याप्टेन रामेश्वर थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको समेत बताएका थिए । क्याप्टेन थापा सबैलाई सहयोग गर्ने व्यक्ति भएको भन्दै देउवाले प्रशंसा गरेका छन् ।
देउवाले क्याप्टेन थापा प्रधानमन्त्री ओली निकटको व्यक्ति भनेर चिनिने भए पनि सबैलाई सहयोग गर्ने मान्छे भएको बताएका छन् ।
सभापति देउवाले भने, ‘धेरै लुकाउनुपर्ने कुरा छैन । ओलीजी र मेरो बीचको सहमति गराउने भूमिकामा रामेश्वरजीले धेरै ठूलो सहयोग गर्नुभएको छ । त्यसको लागी धन्यवाद दिन चाहन्छु ।’
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले क्याप्टेन थापालाई लामो समयदेखि चिनेको र उनले चलाएको हेलिकप्टरमा धेरै पटक चढेको पनि बताए।
‘रामेश्वर थापाज्यूलाई मैले धेरै पहिलादेखि चिन्दै आएको हो । उहाँले धेरै ठूलो संघर्ष गर्नुभएको छ’, देउवाले भने, ‘सबैलाई सहयोग गर्ने व्यक्तिका रुपमा चिनेको छु । उहाँले चलाएको हेलिकप्टरमा पनि चढेको छु । उहाँसँग धेरै ठाउँ घुमेको पनि छु ।’