८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

न्युयोर्क : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन। क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक शासन प्रणालीमा अरुको अधिकार हनन हुनेगरी कुनै पनि काम गर्न नदिने स्पष्ट पारे।

नेपालको आफ्नै पहिचान भएकाले कुनै पनि देशको नक्कल गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, “नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ । बङ्गलादेशमा जे भयो, त्यो यहाँ हुँदैन । नेपाल कुनै मुलुकको ‘फोटोकपी मेसिन’ होइन, यहाँ त्यस्तो हुन सम्भव छैन ।”

लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध लड्नेहरूले लोकतन्त्रवादीहरूलाई तर्साउन सम्भव नभएको बताए । उनले भने, “हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई सबल बनाउन हामी लागेका छौँ । लोकतन्त्रविरुद्ध लड्नेहरूले हामीलाई तर्साउन सम्भव छैन ।”

विगतमा जस्तो नेपालमा अब कहिल्यै हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीलाई सिक भनेर चर्काे स्वरमा बोल्नेहरूलाई म राम्ररी सिक भन्न चाहन्छु, नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन । सम्भव हुन दिइँदैन ।”

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र र देश बनाउने अभियानमा आफू छ दशकदेखि लागिरहेको स्मरण गर्दै समाजको सुव्यवस्थाका लागि मानव जातिले राजनीति र राजनीतिक दल सृजना गरेकाले राजनीतिप्रति घृणा फैलाउने प्रयास गर्न नहुने बताए।

“अहिलेको सरकारले कसैमाथि अन्याय र अत्याचार गर्दैन । आफ्नो हित र रक्षाका लागि केही गलत काम गर्दैन तर जनताको हित र रक्षाविरुद्ध कसैले काम गरेमा विधिको शासनबमोजिम शान्ति सुरक्षा र अमनचयन कायम गर्छ,” प्रधानमन्त्री ओलीले थपे, “राज्यका निकायले कानुनको पालना गर्छन् । न्यायोचित कानुनलाई सबैले मान्नु पर्छ । कानुनको विवेकसम्मत कार्यान्वयन हुनुपर्छ । लोकतन्त्र सरकार र सबैको जीवन पद्धति हुनुपर्छ । हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौँ ।”

आफ्नो न्यायिक कमाइबाहेक अरु सम्पतिमा लोभ नगर्ने, अनैतिक काम नगर्ने, जानीजानी झुठ नबोल्ने, अरुको अहित नगर्ने, भ्रष्टाचार नगर्ने र गर्न नदिने सङ्कल्प दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्र शिथिल भएका बेला अर्थतन्त्रलाई सुधार्दै गरिबीको दुष्चक्रबाट मुलुकलाई माथि उठाउन आफूहरू लागिरहेको स्पष्ट पारे।

कार्यक्रममा प्रधानमन्त्री ओली, सभापति देउवा र बालगुरु आदित्यनाथले थापाको पुस्तक लोकार्पण गरेका थिए । प्रधानमन्त्री ओली र सभापति देउवाले नेपालको शान्ति प्रक्रिया, राजनीति स्थिरता र विकासका लागि थापाले आफ्नो ज्यान जोखिममा राखेर पनि महत्त्वपूर्ण पहल गर्दै आएकामा प्रशंसा गरेका थिए।