११ मंसिर २०८१, मङ्लबार
26 November 2024, Tuesday

इजरेलमा सरकारलाई बन्धक मुक्त गराउन दबाव दिन ठूलो विरोधप्रदर्शन, हडताल आह्वान

इजरेलमा सरकारलाई बन्धक मुक्त गराउन दबाव दिन ठूलो विरोधप्रदर्शन, हडताल आह्वान

न्युयोर्क- हमासले इजरेलबाट बन्धक बनाएर लगेकामध्ये छ जनाको शव गाजा स्ट्रिपमा फेला परेपछि इजरेलका विभिन्न स्थानमा हजारौँ मानिसले इजरेल सरकारसँग असन्तुष्टि व्यक्त गर्दै विरोधप्रदर्शन गरेका छन्।

बन्धक मुक्तिको सम्झौता गर्न दबाव दिने उद्देश्यले इजरेलको एउटा ठूलो ट्रेड यूनियन ‘हिस्टाड्रूट’ले सोमवार देशव्यापी हडताल आह्वान गरेपछि त्यसको पूर्वसन्ध्यामा देशभरि जुलुस निकालिएको हो।

इजरेलको झण्डा अङ्कित लुगा लगाएर सडकमा भेला भएका प्रदर्शनकारीहरूले तेल अभिभ, जेरुसलेम र अन्य सहरमा इजरेल सरकार र प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले बाँकी बन्धकहरूको मुक्तिका लागि हमाससँग सहमति गर्न पर्याप्त काम गरेको आरोप लगाए।
आइतवार आयोजित विरोधप्रदर्शन प्रायः शान्तिपूर्ण रह्यो। यद्यपि तेल अभिभमा भिडले प्रहरीको घेरा नाघ्दै एउटा राजमार्गमा अवरोध गरेको थियो।

हडताल गर्ने निर्णयमा विपक्षी दल, तेल अभिभका नगरप्रमुख र प्रमुख उत्पादक सङ्घको समर्थन छ।

यद्यपि हडताल रोक्नका लागि सरकारले अदालतको आदेश ल्याउने प्रयत्न गरिरहेको छ।

नेतन्याहूले आफू बाँकी बन्धकको रिहाइ सुनिश्चित गर्न र देशको सुरक्षालाई संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन्।
इजरेल डिफेन्स फोर्स (आईडीएफ)ले शनिवार दक्षिण गाजाको रफाह क्षेत्रस्थित भूमिगत सुरुङमुनि छ जनाको शव फेला परेको जनाएको थिए। मृतकमध्ये पाँच इजरेली र एक अमेरिकी नागरिक थिए।

आईडीएफका अनुसार इजरेली सैनिकहरू घटनास्थलमा पुग्नु केही समयअघि मात्रै ती बन्धकको हत्या भएको थियो।

उक्त समाचार प्रकाशित भएपछि सरकार र प्रधानमन्त्री नेतन्याहू हमाससँग भएका बाँकी बन्धकको रक्षा गर्न विफल भएको आरोप लगाउँदै चर्को विरोध हुन थालेको हो।
आइतवार राति प्रहरीको घेरा नाघ्दै तेल अभिभस्थित एउटा मुख्य राजमार्गमा पुगेका कतिपय प्रदर्शनकारीहरू उक्त भेला कत्रो ठूलो छ भनेर हेर्न बसको छत तथा फोहोर सङ्कलन गर्न राखिएका ‘बिन’माथि पनि चढेका थिए।

सडकमा नारा लगाइरहेका कतिपयले नेतन्याहूको मुखुन्डो लगाएका व्यक्तिलाई घेरा हाल्दै, “हामीलाई उनीहरू जीवित चाहियो, जीवत, जीवित, जीवित…” भनेर नारा लगाएका थिए। एक प्रदर्शनकारीले बोकेको प्ल्याकार्डमा लेखिएको थियो, “तिमी प्रमुख हौँ। दोष तिम्रो हो।”

प्रदर्शनकारीहरूले प्रहरीविरुद्ध पनि नाराबाजी गरेका थिए। कतिले बन्धकहरूप्रति ऐक्यबद्धता व्यक्त गर्न हातमा पहेँलो पट्टी बाँधेका थिए। बीबीसी