६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

न्यूयोर्क गभर्नरको पूर्ववरिष्ठ सहयोगी चीनको एजेन्ट भएको आरोपमा पक्राउ

न्यूयोर्क गभर्नरको पूर्ववरिष्ठ सहयोगी चीनको एजेन्ट भएको आरोपमा पक्राउ

न्युयोर्क- न्यूयोर्क राज्यका गभर्नर क्याथी होकलकी पूर्ववरिष्ठ सहयोगी लिन्डा सनलाई फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले चिनियाँ एजेन्ट भएको आरोपमा मंगलबार पक्राउ गरेको छ।

चीनमा जन्मेर अमेरिकाको अंगिकृत नागरिकता लिएकी ४० वर्षीया लिन्डाले १४ वर्षसम्म न्यूयोर्क राज्य सरकारका लागि काम गरेकी थिइन्।

गभर्नर होकल र उनी अघिका गभर्नर एन्ड्रयु कोमोसँग नजिक रहेर काम गरेकी लिन्डालाई एजेन्टका रूपमा चिनियाँ स्वार्थका लागि काम गरेको भनेर संघीय अभियोजनकर्ताले दर्ता गरेको अभियोगपत्रमा आरोप लगाइएको छ।

त्यसको बदलामा लिन्डा र उनका व्यापारी श्रीमान क्रिस्टोफर हुले चीनबाट दसौं लाख डलर पैसा, भ्रमण लाभ, विभिन्न कार्यक्रमका टिकट र पटक पटक विशेष प्रकारले पकाइएको हाँसको मासु लगायत फाइदा लिएको अभियोगपत्रमा दाबी गरिएको छ।

भिसा ठगी, सम्पत्ति शुद्धीकरण र अन्य अपराधमा उनीविरूद्ध १० वटा फौजदारी अभियोग लगाइएको छ। उनका श्रीमानलाई सम्पत्ति शुद्धीकरणको मात्रै अभियोग लगाइएको द न्यूयोर्क टाइम्समा उल्लेख छ।

चिनियाँ सरकारी अधिकारीहरूलाई अमेरिका भ्रमण गर्न र न्यूयोर्कमा राज्यका अधिकारीहरूसँग भेट सजिलो बनाउन गभर्नर कार्यालयबाट लिन्डाले अनधिकृत निमन्त्रणा पत्र उपलब्ध गराएको आरोप छ। गभर्नर लगायत राज्य सरकारका अधिकारीहरूसँग ताइवानका अधिकारीहरूलाई भेट्न नदिएको समेत आरोप लगाइएको उल्लेख छ।

६५ पृष्ठको अभियोगपत्रमा लिन्डाले कुन कुन मितिमा चीनलाई फाइदा पुर्‍याउन के के गरिन् भन्ने मात्रै उल्लेख छैन। अभियोगपत्रमा विशेष तरिकाले पकाइएको हाँसको मासु कहिले-कहिले पाएकी थिइन् भन्ने समेत विस्तृत रूपमा वर्णन गरिएको छ।

सन् २०१९ मा ताइवानकी तत्कालीन राष्ट्रपति साइ इंग-वेनले न्यूयोर्क राज्यको भ्रमण गरेकी थिइन्। चीनले व्यापक विरोध गरेको सो भ्रमणमा ताइवानले आयोजना गरेको भोजमा तत्कालीन गभर्नर कोमोलाई पठाइएको निम्ता लिन्डाले कोमोसम्म पुग्नै नदिएको आरोप लगाइएको छ।

‘मैले रोकिसकेँ’ भनेर त्यसबारे उनले एक चिनियाँ अधिकारीलाई लेखेको समेत अभियोगपत्रमा भनिएको छ।

त्यस्तै, २०२१ मा सार्वजनिक सम्बोधन गर्दा गभर्नर होकलले बोल्ने विषय प्रभावित गरेर उनलाई चीनको सिनजियाङ प्रान्तका वीगरले भोगेको उत्पीडनबारे बोल्न रोकेको दाबी गरिएको छ।

१४ वर्षे सेवा अवधिमा तरक्की गर्दै लिन्डा सन् २०२१ मा वर्तमान गभर्नर होकलको डेपुटी चिफ अफ स्टाफ भएकी थिइन्। सन् २०२३ मार्चमा खराब आचरणका कारण उनलाई पदमुक्त गरिएको थियो। तर पनि उनी राज्य सरकारकी अधिकारी रहिरहेको भन्दै केही महिनासम्म सार्वजनिक कार्यक्रममा सामेल भइरहेकी थिइन्। पछि अगस्टमा सरकारले त्यस्तो कार्य बन्द गर्नू भनेर पत्र लेखेपछि मात्रै उनले त्यस्ता गतिविधि बन्द गरेको आरोप उनीमाथि छ।

लिन्डाले भने सबै आरोपहरू गलत भएको दाबी गरेकी छन्।

चिनियाँ दूतावासका प्रवक्ता लिउ पेन्ग्युले यस मुद्दाबारे विस्तृतमा जानकारी नभएको बताएका छन्। तर पछिल्ला वर्षहरूमा अमेरिकी सरकार र मिडियाले बारम्बार तथाकथित ‘चिनियाँ एजेन्ट’ का कुरा उछालेको र तीमध्ये धेरै आरोप पछि गलत साबित भएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

सम्बन्धित खबर

Image

नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

Image

माल्दिभ्सले ३ नेपालीलाई गर्‍यो निष्काशन

Image

निजी क्षेत्रमार्फत कोरिया पठाउने तयारी