कोलकाता : चिकित्सकको बलात्कार र हत्या भएको करिब एक महिनापछि न्यायको माग गर्दै भारतीयहरूको विशाल भीडले मैनबत्ती लिएर बिहीबार बिहानै कोलकाताका सडकहरूमा जुलुस निकालेको छ ।
अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन समस्यालाई लिएर मुलुकभर आक्रोश बढेको छ ।
चम्किरहेको मैनबत्ती र माटोको दियोमा लेखिएको एक सन्देशमा भनिएको छ, ‘हामी न्याय चाहन्छौँ’ । प्रदर्शनकारीहरूले बोकेका प्रतीकमा लेखिएको थियो, ‘उज्यालो होस्, न्याय होस्’ ।
उक्त नृशंस हत्याले सम्पूर्ण भारतमा विरोध प्रदर्शन सुरु भयो र महिलाहरूको सुरक्षा अवस्थाको माग गर्दै चिकित्सकहरूले बारम्बार हडताल गरिरहेका छन् ।
बाँकी भारतमा धेरै विरोध प्रदर्शन र हडताल शान्त भए पनि कोलकाता जस्तो विशाल सहरमा नियमित प्रदर्शनहरू जारी छन् ।
कोलकोताको जुलुसमा करिब एक लाख मानिसले भाग लिएको प्रहरीले बताएको छ । राजधानी नयाँदिल्लीमा पनि यस्तै सानो जुलुस आयोजना गरिएको छ । प्रदर्शनकारी रुबिना मुखर्जीले भने, “सम्पूर्ण मुलुकको हृदय छियाछिया भएको छ ।”
बुधबार साँझ अबेरसम्म हडतालमा रहेका सयौँ चिकित्सकसँगै हजारौँ मानिस भेला भएर विरोधमा मानव शृङ्खला बनाउन एकअर्काको हात समाइरहेका थिए ।
एक घण्टाका लागि बत्ती निभाइयो । सहरको एउटा ठुलो हिस्सा अँध्यारो भयो । प्रदर्शनकारीहरूले बलिरहेको मशाल बोकेर सहरको अँध्यारो आकाशलाई उज्यालो बनाइरहेका थिए ।
“न्याय नमिलेसम्म हामी बारम्बार रात बिताउनेछौँ”, ३५ वर्षीया गृहिणी स्मिता रायले भनिन ।
महिलाहरूले भारतीय झण्डा फहराउँदै सामूहिक धर्ना दिएर सडक अवरुद्ध गरेकाले कोलकाताका सामान्यतया व्यस्त हुने मुख्य सडकहरूमा यातायात रोकिएको थियो ।
कहिलेकाहीँ भीडले क्रोधमा चिच्याउँदै ‘वि वान्ट जस्टिस’ भन्ने नारा लगाउँथे । तर मैनबत्तीहरू जलाउन सुरु गरेपछि त्यो नारा बिस्तारै नरम गीत गाउनुअघि शान्त प्रतिबिम्बमा रोकिए ।
प्रदर्शनकारीहरूले हत्या गरिएकी चिकित्सकलाई ‘अभया’ उपनाम दिएका छन् । यसको अर्थ निडर हो ।
हत्याको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ तर अनुसन्धानको तरिकालाई लिएर पश्चिम बङ्गाल सरकारले सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ ।
आफ्नो परिवारमाथि छोरीको शवलाई चाँडोभन्दा चाँडो अन्त्येष्टि गर्न ‘धेरै दबाब’ दिइएको भन्दै पिताले आक्रोश व्यक्त गरे । “हामी उनको शव राख्न चाहन्थ्यौँ, उनको अन्त्येष्टि गर्न के हतार थियो ? उनको मृत्यु रहस्यले ढाकिएको छ”, उनले भने ।
बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने मङ्गलबार पारित राज्यको एक कानुनलाई पनि उनले ‘लोकप्रिय देखावटी’ बाहेक केही नभएको भन्दै खारेज गरे ।