९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

एनआरएनए न्यूयोर्क च्याप्टर तीज तथा दर कार्यक्रम सम्पन्न, कराते प्रशिक्षक राई सम्मानित

एनआरएनए न्यूयोर्क च्याप्टर तीज तथा दर कार्यक्रम सम्पन्न, कराते प्रशिक्षक राई सम्मानित

न्युयोर्क । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका, न्यूयोर्क च्याप्टरले फ्रेण्ड्स अफ नुवाकोट इन् न्यूयोर्क, बाग्लुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता मञ्च, नेपाली अमेरिकन कलाकार संघ, धादिङ नेपाली समाज अमेरिका र काभ्रे अमेरिका कल्याणकारी समाजसँगको सहकार्यमा संयुक्त तीज तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार साँझ न्यूयोर्कको क्विन्सस्थित दिव्यधाम मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो । एनआरएनए न्यूयोर्क च्याप्टरकी महिला उपाध्यक्ष लक्ष्मी थापाको संयोजनमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता एनआरएनए न्यूयोर्क च्याप्टरका कार्यवाहक अध्यक्ष छिरिङ शेर्पाले गरेका थिए । नेपाली महावाणिज्य दूतावासको कार्यालय, न्यूयोर्ककी उप-वाणिज्यदूत संगीता न्यौपाने प्रमुख अतिथिका रुपमा उपस्थित भएकी थिइन् ।

कार्यक्रममा दरसहित शुभकामना आदान प्रदान एवम् नाचगान गरिएको थियो । न्यूयोर्कको क्विन्सस्थित सत्य नारायण मन्दिरमा क्विन्स केटिएम लायन्स क्लब र क्विन्स बुद्ध लायन्स क्लबको संयुक्त आयोजनामा सम्पन्न ‘तिज बिशेष कार्यक्रम तथा नृत्य प्रतियोगिता’मा प्रथम हुन सफल रिजवुड नेपाली समाज न्यूयोर्कको प्रस्तुतिलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो । च्याप्टरकी महिला सचिव गीता अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

यस कार्यक्रमको आर्थिक संयोजन च्याप्टरका कोषाध्यक्ष देवेन्द्र लामाले गरेका थिए भने तीज कार्यक्रम संगै मार्सल आर्ट खेलमा डेढ दशक समय बिताईसकेका पार्खि खालिंग राईलाई विशेष सम्मान गरिएको थियो ।

पार्खि खालिङ राई हाल अमेरिकी कराते महासंघ अन्तर्गत अन्तर्राष्ट्रिय खेलाडी छनोटका निर्णायक छन् । उनले संयुक्त राज्य अमेरिकाका विभिन्न राज्य लगायत विभिन्न देशमा गएर पनि निर्णायकको भूमिका निर्बाह गरिसकेका छन् । प्रशिक्षकसमेत रहेका राई आफैले सञ्चालन गरेको इन्टरनेशनल मार्शल आर्ट्स एशोसिएसन न्यूयोर्कमा हाल ७०-८० जनाले दैनिकरुपमा प्रशिक्षण लिईरहेका छन् ।

राईले प्रशिक्षण गराएका प्रशिक्षार्थीमध्ये केलसाङ लामा सन् २०२१ मा पहिलो नेपाली महिला इन्टरनेशनल मार्सल आर्ट्स एसोसिएसन न्यूयोर्कबाट निर्णायक समेत बनेकी थिइन् भने धेरैको संख्यामा पुरूष प्रशिक्षार्थीहरु अमेरिकी करातेमा निर्णायक तथा प्रशिक्षकको रूपमा काम समेत गरिरहेका छन् ।

सम्बन्धित खबर