श्रीमतीलाई उनको भाइले दर खान बोलाए। उनी गइन्। म एक्लो, आफ्नो भाइकोमा गएँ। छोरीले दर पकाई। खाएँ र आएँ। ‘तीन बास हुन्छ’ भन्ने डर देखाएर श्रीमती हिँडेकोले डरैडरमा ‘रूम’ आएँ। डर अचम्मको हुन्छ। नआउनेलाई पनि ल्याउँछ। नगर्नेलाई पनि गराउँछ। नमान्नेलाई पनि मनाउँछ।
अबेरसम्म निद्रा लागेन। मोबाइलले नाचगान देखायो। लाइभ देखायो। स्टाटस देखायो। वादविवाद र बहस देखायो। झन निद्रा लागेन। भोलि नयाँ ‘रूम’को चाबी लिन जाने हो, निदाउनुपर्छ भनेर मनले भनिरहयो, तर आँखाले मानेन। श्रीमतीको मेसेज आउन छोडेको दुई घण्टा बितिसक्दा पनि निद्रा लागेन। चाबी लिन जाने समय दुई घण्टा बाँकी हुँदा चाहिँ कसोकसो निदाएछु।
चाबी लिएपछि सुरु भयो नयाँ घरको सरसफाइ र आधारभूत जोहोको तयारी। नाच्नेहरू गीत बजाएर नाचिरहे, म पनि वल्लो रूम र पल्लो रूम, ट्वाइलेट किचन र बाथरूम गर्दै दिनभरि नाचिरहें। श्रीमतीले गाडी ल्याएमा साडीमा फर्किन सजिलो हुने आशय व्यक्त गरेकोले सहज रेलयात्रा त्यागी गाडी लिएरै आएँ। उसै पनि यो त श्रीमतीको दिन थियो , खुसी नपारे पाप लाग्ने डर। यो पाप पनि अचम्मको हुन्छ । ‘पाप लाग्छ’ भन्ने ज्ञानले अटेरलाई पनि आज्ञाकारी बनाउँछ। नत्र लहरो जस्तो बटारिएको म, यति आज्ञाकारी चाहिँ होइनँ।
श्रीमती साडी लगाएर गाडीमा बसिन्। म दाह्रीमा हात लगाउँदै गाडी चलाउन सुरु गरें। उनले नाचेका कुरा सुनाइन्, थाकेका कुरा सुनाइन्। मैले थाकेका कुरा सुनाइनँ, सुनाउन पाइनँ, सुनाउन चाहिनँ। पुरुषहरूले खै किनकिन आफू थाकेको, गलेको, हारेको, लत्रेको कुरा सुनाउनै चाहँदैनन्। ‘इगो डाउन’ हुन्छ भनेर हो वा चलन नै यस्तै भएर हो, म जान्दिनँ। यो चलन पनि अचम्मको हुन्छ। जे हो, त्यो बताइदिनन्। जे हैन, त्यो देखाइदिन्छन्। सत्यमा पर्दा हालिदिन्छ। बनावटीलाई ‘ब्रोडकास्ट’ गरिदिन्छन्।
घर आउने बित्तिकै लखतरान ज्यानलाई सोफामा अड्याएँ। भोको थिइनँ तर थाकेको थिएँ। श्रीमती अम्खोरासहित देखिइन्। भोकी थिइन् तर थाकेकी थिइनन्। कस्तो जोश ! कस्तो शक्ति ! कहाँबाट आउँछ होला यो दिनमा यस्तो ऊर्जा ! ‘खै’ भन्दै गोडा मागिन्। मैले ‘नाई’ भन्दै गोडा दुई गोडा पछाडि खिचेँ। उनले बलजफ्ती तानिन्। मैले बलमिच्याईं गरिनँ। श्रीमान-श्रीमतीबिचमा प्रेम र सम्मानले तान्दाखेरी ‘नाईं’ भन्ने चलन खासै हुन्न, हुनुहुन्न भन्छु म।
सुत्नेबेला उनलाई सुस्तरी सोधें:
-अघि जे गर्यौ, त्यो किन गर्यौं ?
-कस्तो किन, रहरले गरेँ, इच्छाले गरेँ !
-भिडियो बनायौ ?
-उम बनाएँ, मेमरीको लागि !
-कतै पोस्ट गर्छ्यौ टिकटक वा रिलमा ?
-नाइ गर्दिनँ, म अरु जस्तो आईमाई हो र!
-अनि अघि किन अरु आईमाइले जस्तो गरेकी त ?
-के गरें र ?
-जल क्या जल ! सुरूप्प !
-ए, त्यो त इच्छाले !
-इच्छा कसरी जाग्यो त ?
-आमाले गरेको देखेर !
-आमाले गर्नुपर्छ भन्नुभाथ्यो ?
– नाइ भन्नुभएन !
-अनि किन त ?
-चलन हो जस्तो लाग्यो !
-चलन फेर्न सकिन्न जस्तो लाग्छ ?
-सकिएला तर डर त हुन्छ नि !
-केको डर ?
-पाप लाग्ने डर !
-अनि गोडाको जल खुवाउने मलाई पाप लाग्दैन ?
-संस्कृति बचाउँदा त झन धर्म पो हुन्छ !
-कसले भनेको ?
-सबैको देखेको !
-तिम्रो आफ्नो इच्छा के हो ?
-हामी आइमाइको आफ्नो इच्छा के हुन्छ र ?
-के भन्यौ ?
-हैन, सरी, झुक्किएछु।
-तिमी झुक्किएकी छैनौ, सही छौ !
-हैन झुक्किएकै हो।
-कसम तिमी सही छौ यसपालि ! झुक्किएकी छैनौ !
-नकराउनु धेरै ! ज्यादा क्रान्तिकारी नबन्नुस्। उठ्नु कफी चिसो भो। सुन्नुभएन ? कफी चीसो भो।
झल्याँस्स बिउझिएँ। श्रीमतीको हातमा कफी थिएन। जलको अम्खोरा पनि थिएन। श्रीमती नै थिइनन्। भित्तो थियो। मेरो गोडा चिसो पनि थिएन। नयाँ घर बिजुली जोडेको छैन। पसीनाले भिजेको टिसर्छ चिसो थियो। दश मिनेट मात्र निदाएछु। सपना चाहिँ दश युगको देखेछु।
दोधारमा छु- सपना सुनाऊँ भने दिउँसोको सपना हो, उज्यालोको सपना हो ! नसुनाऊँ भने सपनाभरि उनी नै उनी छिन्। उनी अर्थात् तीजकी उनी।
तैपनि कथा त सक्नैपर्छ। यसपाली यस्तै भो- ह्याप्पी तीज !!
हेमन्त गिरी
साहित्यकार (जापान )