७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

यूएस सीमा गस्तीबाट ८ महिनामा पक्राउ परे २ हजार ६६० नेपाली

यूएस सीमा गस्तीबाट ८ महिनामा पक्राउ परे २ हजार ६६० नेपाली

न्यूयोर्क : राष्ट्रपति जो बाइडेनले शरणमा प्रतिबन्ध लगाउनु अघि यूएस सीमा गस्तीले चालु आर्थिक वर्षको अवधिमा मानव तस्करको सहयोगमा अमेरिका–मेक्सिको सीमा नाकाबाट विना भिसा अमेरिका प्रवेश गर्न खोज्ने २ हजार ६६० नेपाली नागरिकलाई पक्राउ गरेको छ । होमल्यान्ड सुरक्षा विभागका अनुसार यो संख्या चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पक्राउ परेकाको हो।

सन् २०२३ को अक्टोबरमा ६१०, नोभेम्बरमा ५५० र डिसेम्बरमा ४२० जना नेपाली पक्राउ परेको तथ्यांकले देखाएको छ । सन् २०२४ को जनवरीमा २०० जना, फेब्रुअरीमा २३०, मार्चमा १६०, अप्रिलमा ३१० र मेमा १८० जना गरी यस अवधिमा जम्मा २६ सय ६० जना नेपाली पक्राउ परेका छन्।

जुन ५, २०२४ मा बाइडेन प्रशासनले दक्षिणी अमेरिकी सीमामा ठूला मुठभेडहरूको व्यवस्थापन गर्ने उद्देश्यले शरण प्रतिबन्धको नीति प्रस्तुत गरेको थियो। यस नीतिमा धेरै महत्त्वपूर्ण कुरा समावेश गरिएका छन्।

पहिलो राष्ट्रपतिको घोषणा हो, जसमा दक्षिणी सिमानामा गैर-नागरिकहरूको प्रवेश बन्द गर्ने भनिएको थयो। प्रवेश रोकिएको क्षेत्रमा दक्षिणपश्चिमी भूमि र दक्षिणी तटीय सीमा समावेश छन्।

यसबाहेक डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (DHS) र डिपार्टमेन्ट अफ जस्टिस (DOJ) ले एक अन्तरिम नियम जारी गर्‍यो जसमा भिडन्तको अवधिमा गैरकानूनी रूपमा आउने व्यक्तिहरूको लागि शरण प्रतिबन्धित गरिएको छ।

आर्थिक वर्ष २०२४ को अन्तिम महिनाहरुमा गिरफ्तारीको संख्यामा केही ह्रास आएको छ । यो गिरावट जुनको शुरुमा बिडेन प्रशासनले लगाएको सीमामा शरणार्थीमा ल्याएको नयाँ प्रतिबन्धको कार्यनवयले भएको मानिन्छ।

आर्थिक वर्ष २०२३ को १२ महिना र २०२४ को पहिलो आठ महिनाको यी पछिल्लो तथ्याङ्कहरू अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय रूपमा बढी रहेको जनाइएको छ।

सन् २०१४ देखि २०२२ सम्ममा मेक्सिकोको सिमाना हुँदै विना भिसा अमेरिका प्रवेश गरेको नेपालीको संख्या ५ हजार १८० रहेको अनुमान छ । तर, अक्टोबर २०२२ देखि मे २०२४ सम्म सीमामा ५ हजार ८ सय नेपाली फेला परेकाले उल्लेख्य वृद्धि भएको छ । यो तथ्याङ्क सीमा गस्तीद्वारा पक्राउ परेकाको मात्र हो।

गत आर्थिक वर्ष २०२३ मा सबैभन्दा बढी ३ हजार १ सय ४० नेपालीले बिना भिसा अमेरिका–मेक्सिको सीमा पार गर्ने प्रयास गरेका थिए । त्यस आर्थिक वर्षको मासिक तथ्याङ्कमा २०२२ अक्टोबरमा १७०, नोभेम्बरमा २२०, डिसेम्बरमा ३२०,२०२३ कझ जनवरीमा १४०, फेब्रुअरीमा १००, मार्चमा १३०, अप्रिलमा २६०, मेमा ४६०, जुनमा ४८०, जुलाईमा ३१०, अगस्टमा २४० र सेप्टेम्बरमा ३३० रहेका छन्।

त्यसको तुलनामा आर्थिक वर्ष २०२२ मा १ हजार ४९० नेपाली मात्र यसरी अमेरिका प्रवेश गरेका थिए। २०२१ मा ४२० मात्रै प्रवेश गरेका थिए । बाइडेन कार्यकालमा कुल ७ हजार २१० नेपालीले बिना भिसा अमेरिका प्रवेश गर्ने प्रयास गरेका छन् भने ट्रम्प प्रशासनको चार वर्षमा १ हजार ८५० जनाले त्यसो गरेका छन् ।

यो संख्या ट्रम्पको कार्यकालमा आर्थिक वर्ष २०१७ मा ६५०, २०१८ मा ७२०, २०१९ मा ३४० र २०२० मा १४० रहेक थियो।

सन् २०१४ देखि २०१६ सम्म क्रमशः ४६०, ४१० र ५५० नेपाली विना भिसा अमेरिका आएका थिए । यी व्यक्तिहरूले प्राय: हजारौं डलर दलालहरूलाई उनीहरूको प्रवेश सुविधाको लागि तिर्छन्।