मेक्सिकोमा न्यायिक सुधारको प्रस्तावको विरोधमा प्रदर्शन
- २५ भदौ २०८१
- १ मिनेटको पढाई
मेक्सिको सिटी। लोकप्रिय मतबाट न्यायाधीश चयन हुने विवादास्पद न्यायिक सुधार प्रस्तावको विरोधमा मेक्सिकोका हजारौँ नागरिकले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् । मुख्यतया अदालतका कर्मचारी र कानुनका विद्यार्थीले प्रस्तावको विरोध गरेका हुन् ।
निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले अघि सारेको र तल्लो सदन ‘चेम्बर अफ डेपुटिज’ ले पारित गरेको पहलमाथि सिनेटले बहस सुरु गरेपछि मेक्सिको सिटीमा भेला भएका प्रस्तावविरोधी नागरिकले प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालत र अन्य न्यायाधिकरणका न्यायाधीशहरूको साथसाथै न्यायिक प्रशासकहरूको निर्वाचनको पक्षमा प्रस्तावित सुधार योजना छ ।
यो प्रस्तावले संयुक्त राज्य अमेरिकासँग कूटनीतिक तनाव बढाएको छ भने विपक्षीहरूलाई सडकमा ओरालेको छ र वित्तीय बजारलाई अस्तव्यस्त बनाएको छ ।
सिनेटमा प्रदर्शन गरेका प्रदर्शनकारीले बुधबार उक्त प्रस्तावमाथि मतदान हुने अपेक्षा गर्दै ‘न्यायपालिका ढल्ने छैन’ भन्ने नारा लगाएका थिए ।
सिनेटका समितिहरूले आइतबार राती उक्त विधेयकलाई अनुमोदन गरेका थिए र त्यसको एक दिनपछि मतदान हुनुअघि मङ्गलबार सिनेटको पूर्ण बैठकमा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।
लोपेज ओब्राडोरका विरोधीहरूले सर्वोच्च अदालतलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् तर लोपेज ओब्राडोरले अदालतलाई त्यसमा गर्ने कुनै कानुनी आधार नभएको बताए।