२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट अवैधरुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा सुनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका–१ बाङ्गेसार बस्ने ३१ वर्षीय समिर अहमद र खोटाङ दिपरुङ गाउँपालिका–५ बस्ने ३० वर्षीय देवराज खत्री रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएका समिरलाई करिब ५४ ग्राम तौलको सुन (धातुको ढिक्का एक थान, बेरुवा औँठी एक थान) मोबाइल एक थानसहित प्रहरीले सोमबार पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार देवराजलाई करिब २५ ग्राम तौलको सुनको सिक्री एक थान, मोबाइल दुई थान र ल्यापटप एक थानसहित पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गल बुझाएको प्रहरीले जनाएको छ ।