‘भैंसी सुत्केरी भत्ता’ ले ल्याएको खुसी
- २७ भदौ २०८१
- ५ मिनेटको पढाई
काभ्रे- विसं २०७७ मा भैंसीको पाडी ल्याएर स्याहारेदेखि पनौती नगरपालिका–११ ख्याकूका माधव थापाको घरमा लैनो भैंसी टुटेको छैन। चार वर्षदेखि लैनो भैंसीको दूध बेचेर घर व्यवहार खर्च टार्दै आएका थापा त्यसबखत पनौती नगरले अनुदानमा दिएका पाडी ठूलो भई ब्याएपछि नगरको ठूलो सम्झिरहेको गुन लगाएको बताउँछन्। उक्त पाडी ब्याएपछि नगरले रु पाँच हजार ‘सुत्केरी भैंसी भत्ता’ पनि दिएको थियो।
“भैंसीबाट पहिलो बेतमा रु एक लाख ८० हजारको दूध बिक्री गरें। त्यसपछि पनि अनुदानमै पाडी थप्दै घरमा लैनो भैंसी टुटाएको छैन, उही हाराहारीमा आम्दानी भइरहेको छ”, थापाले भने। पहिलो पटक सुत्केरी भएको भैंसीलाई नगरले सुत्केरी भत्ता दियो, पाडी किन्दा लगानी गरेको रकम सुत्केरी भत्तासँगै फिर्ता भयो। नियमित बिक्री गरेको दूधबाट परिवार पनि चल्यो।
यस्तै, सोही साल नगरबाट पाडी अनुदान पाउनुभएकी स्थानीय शोभा थापाले पनि एक वर्ष नपाल्दै पाडो लैनो भैंसी बनेपछि घर खर्च चलाउने आधार बन्दै आएको बताउँछन्। उनले भने, “अहिलेको भैंसीले पनि दैनिक आठ लिटर दूध दिन्छ, यसमध्ये पाँच लिटर बेच्न लैजान्छु, यसबाटै घरखर्च चलाउँदै आएको छु।” सोही टोलको सावित्री थापाको घरमा अहिले लैनो भैंसी छ। त्यतिबेला घरमा भएको भैंसी पहिलो बेत सुत्केरी हुँदा नगरले नै रु पाँच हजार ‘सुत्केरी भत्ता’ पनि गोठमै पुगेर दिएको थियो।
“पहिलो बेतको पाडी हुर्कियो, अहिले दोस्रो बेतमा राम्रो भएको छ, मैले बुझाएको रु सात हजारमध्ये पुनः रु पाँच हजार अनुदानमा ल्याएको पाडी सुत्केरी भत्तामा फिर्ता आयो”, थापाले भने। उनले रु दुई हजार नगरलाई दिएको ‘बोट’मा अहिले रु दुई लाख फलेको भन्दै थापा खुसी व्यक्त गर्छन्। उनले भने, “पहिलो बेतमा घरमा खाएर रु दुई लाखको दूध बेचँे, दोस्रो बेतमा पनि त्यही हुन्छ होला !” एकपछि अर्को गर्दै जन्मिएका पाडीहरुले दिएको खुसी थापा दंग छन्।
यस्तै, वर्षौंदेखि गाई पाल्दै आएकी पनौती–३ को विमला सापकोटाले तीन वर्षअघि गोठमा एउटा भैंसी थपेकी थिइन्। नगरले ल्याएको अनुदानपछि भैंसी थपेर दूध बिक्रीमार्फत घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च धान्दै आएको बताउँछिन्। “गाई र भैंसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु, यसका लागि नगरको अनुदान बीमा र सुत्केरी प्रोत्साहनका कारण भैंसीपालनप्रति आकर्षण बढ्यो,” सापकोटाले भनिन्।
पनौती नपा–१२ का यज्ञ खत्री नगरले भैंसीपालनमा ल्याएको अनुदान, बीमा र सुत्केरी प्रोत्साहनले पुनः व्यावसायिक भैंसीपालनमा लागेका छन्। उनले भने, “विभिन्न समस्या र दूधको मूल्य नपाउँदा सधैँ घाटामा भैंसी पाल्न नसकिने भएपछि चार भैंसी मासुको मूल्यमा बेचेर छोडेको थिए, अहिले पुनः भैंसी पाल्न जाँगर चलाएको छु, हाल मेरो गोठमा सात भैंसी छन्।”
पनौती नगरको ‘भैंसी सुत्केरी भत्ता’ कार्यक्रमबाट सहयोग मिल्नाका साथै थप आत्मबल बढेको स्थानीय बताउँछन्। “भैंसी पाल्दा धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुन्थ्थो अब त्यो समस्या हटेको छ, भैंसीको बीमा पनि हुने अनुदान रकम पनि पाइने हामी किसानलाई ठूलो राहात मिलेको छ,” पनौती–१२ कै भावना थापाले भनिन्, “अब थप दुईवटा भैंसी थपेर पाडापाडी पनि हुर्काउँछु।” पनौती–५ का चन्द्रप्रसाद न्यौपानेले फार्म नै स्थापना गरी १७ भैंसी पालेका छन्। उनले भने, “नगरले भत्तासँगै भ्याक्सिन र औषधि निःशुल्क गर्दा यसप्रति आकर्षण थपिएको छ।”
नगर उपप्रमुख गीता बञ्जाराले नगरले उपलब्ध गराएको एउटा पाडीले अहिले किसानका गोठ भरिन थालेको र किसान खुसी देखिएको सुनाइन्। “गरिब तथा एउटा भैंसी किन्न नसक्ने परिवारलाई उक्त कार्यक्रम निकै प्रभावकारी देखिएको छ”, उनले भनिन्। पहिलो र दास्रो बेतका दुधालु भैंसीको अहिले रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म पर्छन्। तर दुई वर्षदेखि नगरले उक्त कार्यक्रमलाई निरन्तरता नदिएको प्रति भने स्थानीय दुःखी नै देखिन्छन्।
करिब चार वर्ष नगरले १२ वटा वडामा नौ सय १८ पाडी वितरण गर्यो। यसमध्ये हालसम्म करिब सात सय ११ भैंसी ब्याइसकेको नगरको कृषि तथा पशुपक्षी शाखाले जनाएको छ। वडा नं १ र १२ लाई प्राथमिकतामा राखेर सबै वडामा वितरण गरिएका पाडीहरु धमाधम सुत्केरी भएका छन्। त्यसबाट स्थानीयवासीले निरन्तर आम्दानी लिन थालेका छन्।
भैंसी आयात रोक्ने, स्रोत केन्द्र बनाउने र नागरवासीलाई आत्मनिर्भर बनाउँदै आर्थिक समृद्धि हासिल गर्ने नगरले त्येतिबेला एक मात्रै लक्ष्य लिएको पूर्वनगर प्रमुख भीम न्यौपानेले बताए। नगरले आर्थिक वर्ष २०७४-७५ बाट ‘भैंसी संरक्षण–संवर्द्धन अभियान’अन्तर्गत सुत्केरी भैंसी भत्ता कार्यक्रम सुरु गरेको थियो। जननिर्वाचित जनप्रतिनिधिले नेतृत्वमा नगरको कार्यसम्पादनको कार्यभार सम्हालेलगत्तै सुरु गरिएको सुत्केरी भैंसी भत्ता कार्यक्रम मुलुकभर चर्चाको विषयसमेत बन्न पुग्यो।
अभियान सञ्चालनताका पनौतीमा उत्पादित दूधको परिमाणभन्दा हाल दोब्बर उत्पादन हुने गरेको नगरको तथ्यांकले देखाएको छ। त्यस आर्थिक वर्षको तथ्यांकअनुसार पनौती नगरमा चार हजार सात ४७ वटा भैंसीपालन गरिएको थियो। त्यस समयमा वार्षिक रुपमा करिब पाँच सय भैंसी खरिद भएर बाहिरी जिल्लाबाट भित्रन्थे। करिब रु छ करोड भैंसी खरिदमा बाहिर रकम बाहिर जाने गरेको थियो।
त्यतिबेला पनौतीमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको थियो। उत्पादितमध्ये १५ हजार लिटर यही खपत हुने गरेको र २५ हजार काठमाडौं उपत्यका लैजाने गरिन्थो। जनप्रतिनिधिले उक्त अभियान सुरु गरेपछि भैंसीको सङ्ख्या पनि झन्डै दोब्बरको हाराहारीमा पुगेको छ। नगरले सुरुमा दूध उत्पादन र नगरमा भैंसीको अवस्थाबारे एक अध्ययन गरी सुरु गरेको अनुसार भैंसी संरक्षणको अभियानअन्तर्गत पहिला भैंसी सुत्केरी भत्ता वितरण गरेको हो।
पनौती नगरपालिकाले पाडी वितरणका लागि कार्यविधि तयार गरेको थियो। किसानसमेत लगानीमा उपलब्ध गराइएको पाडी बिक्रीका लागि नगरको अनुमति अनिवार्य थियो। बिरामी भएमा, थारो रहेमा वा केही त्यस्ता सर्त पालना नहुँदा पाडी सट्टापट्टा गर्ने अनुमति हुन्थ्यो। बीमा, उपचारलगायत सुविधासमेत उपलब्ध गराएर उपलब्ध गराएको पाडी पहिलोपटक सुत्केरी हुँदा रु पाँच हजार किसानले सुरुमा लगानी गरेको रकम फिर्ता लैजान्छन्। नगरपालिकाले पहिलोपटक सुत्केरी भएको भैंसीलाई पाँच हजार र दोस्रो पटक तथा थप पटकमा दुई हजार उपलब्ध गराउँदै आएको थियो।
कार्यविधिअनुसार त्यसरी बिक्री गरिएका पाडीहरुको लागत अनुसारको २० प्रतिशत रकम नगरको राजस्व शाखामा बुझाउनुपर्छ। अनुमगन नभएको र नगरबाट समेत बेवास्ता गरिएकाले अधिकांश किसानले नगरलाई बुझाउनुपर्ने रकम बुझाएका छैनन्। विसं २०७९ अघि त्यसरी बिक्री गर्ने केही किसानले भने नगरमा नियमानुसार रकम जम्मा गरेका थिए।
पहिलो बेतको भैंसी सुत्केरी हुँदा रु पाँच हजार र त्यसपछि दुई हजारको दरले सुत्केरी भत्ता वितरण गरिएको शाखाले जनाएको छ। उक्त कार्यक्रममा सहभागी हुन अनिवार्य बीमा गर्नुपर्ने नियम राखिएको थियो। बीमा गरेबापत लागेको प्रिमियम नगरले ५० प्रतिशत दिने व्यवस्था भयो। भैंसीलाई खोप, घाँसका बीउ निःशुल्क उपलब्ध गराइँदै आइएको जनाइएको छ।
कार्यक्रम लागू गर्दाका बखत दुई सय १७ भैंसीलाई रु पाँचका दरले सुत्केरी भत्ता दिएको शाखा प्रमुख लीलानाथ सापकोटाले बताए। उनका अनुसार करिब एक हजार पाँच सय भैंसी–भत्ता किसानलाई वितरण गरिएको थियो। शाखाका अनुसार हाल करिब आठ हजार भैंसी पनौतीमा छन्। हाल दूधको उत्पादन दैनिक करिब ७५ हजार लिटर हाराहारीमा उत्पादन हुन्छ। यसमध्ये ५० हजार लिटर काठमाडौं बिक्रीका लागि पठाइन्छ।
अभियान सञ्चालन गरेपछि भैंसीको सङ्ख्या झन्डै दोब्बर तथा दूध उत्पादन दोब्बर भएको नगर उपप्रमुख बञ्जारा बताउँछिन्। उनले भनिन्, “हाम्रो अभियान प्रत्यक्ष किसानसँग जोडिएकाले उहाँहरुको आर्थिक अवस्था सुदृढ बन्दै जीवनस्तर समेत उकासिँदै गएको पाएका छौं।” सापकोटा पनि उक्त कार्यक्रमबाट किसान अत्यन्तै खुसी देखिएको बताउँछन्। अधिकांश किसान उक्त कार्यक्रमको निरन्तरता चाहन्छन्, तर नगरपालिकाको कार्यक्रम भैंसी सुत्केरी भत्ताबाहेक अरू नभएकाले पाडी वितरण र अनुगमन निरन्तर हुन सकेको छैन।
वडा नं १२ का पूर्ववडाध्यक्ष ईश्वर जंगमले कृषकमैत्री कार्यक्रमको निरन्तरता, नियमित अनुगमन तथा कृषक लक्षित कार्यक्रम निरन्तरता दिन जनप्रतिनिधिसँग अनुरोध गरे। उनले भने, “कमजोर आर्थिक अवस्था भएका कृषकका लागि पाडी वितरण कार्यक्रम प्रभावकारी मात्रै थिएन, उनीहरुको जीविकोपार्जनका लागि प्रमुख माध्यम नै बनेको थियो।” पनौती नगरको उक्त कार्यक्रम प्रदेश र संघ सरकारकै नमूना कार्यक्रमका रुपमा अर्थ्याइँदै आइएको थियो। पनौतीको कार्यक्रम प्रभावकारी पाइएपछि संघ र प्रदेश सरकारले पनि यस्ता कार्यक्रमका लागि थप बजेट विनियोजन गरेको बताइन्छ। रासस
ताजा खबर
मलेसियाको श्रम उत्पादकता २.६ प्रतिशतले बढ्यो
- ०७ मंसिर २०८१
नेपालमा अब ओमानी रियाल पनि खरिद-बिक्री हुने
- ०७ मंसिर २०८१
ट्रेन्डिङ
सम्बन्धित खबर
ट्रम्पले महान्यायाधिवक्ता छानेका म्याट गेट्जले लिए नाम फिर्ता
- ०७ मंसिर २०८१
- १ मिनेटको पढाई
बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक अस्ट्रेलियाको संसद्मा पेस
- ०६ मंसिर २०८१
- १ मिनेटको पढाई
आजको राशिफल [२०८१ मंसिर ४ गते]
- ०४ मंसिर २०८१
- ४ मिनेटको पढाई
गोरखामा पर्यटक भित्र्याउन भेला
- ०१ मंसिर २०८१
- १ मिनेटको पढाई