नेपाली तरकारी कतार निर्यात
- २८ भदौ २०८१
- २ मिनेटको पढाई
काठमाडौँ । नेपाली किसानले उत्पादन गरेको तरकारी कतार निर्यात भएको छ । काठमाडौँ उपत्यकाका किसानले उत्पादन गरेको सो तरकारी बिहीबार कतार निर्यात भएको हो । चीनको सहयोगमा सञ्चालित ग्रामीण विकासका लागि (सिएफआरडी) कार्यक्रम अन्तर्गत किसानले सो तरकारी उत्पादन गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी दक्षिणकाली नगरपालिकाका किसानले उत्पादन गरेको तरकारी कतार पठाएको हो । सिएफआरडीबाट सञ्चालित कार्यक्रमबाट उत्पादित तरकारी नेपालबाट मध्यपूर्व देशमा निर्यात भएको यो पहिलो हो र यसलाई निरन्तरता दिने जनाइएको छ । सिएफआरडी सहयोगमा २० जना किसानले दैनिक एक हजार पाँच सय केजी तरकारी उत्पादन गर्छन् । ती किसानले उत्पादन गरेको तरकारी एक महिनासम्म लगातार निर्यात हुने बताइएको छ ।
कृषि विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले नेपाली तरकारी कतारमा निर्यात गर्दा किसान उत्साहित भएको बताए। नेपाल तरकारीका लागि भारतमा निर्भर छ तर अहिले चिनियाँ गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा नेपाली किसानले तरकारी उत्पादन गरेर निर्यात गर्ने अवस्थामा पुगेको उनले बताए। उनले भने, “कृषि क्षेत्रका लागि यो एक उल्लेखनीय उपलब्धि हो ।” यो सहयोगले किसानको क्षमतालाई बलियो बनाउने मात्र नभई नयाँ आर्थिक अवसर पनि खोल्ने उनले बताए। नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले सिएफआरडी कार्यक्रमले गर्दा नेपालको कृषि विकासमा महत्वपूर्ण उपलब्धि भएको बताए । यो कार्यक्रमले गर्दा चीनको गरिबी निवारणका अनुभवलाई नेपाली समुदायमा प्रवर्धन गर्न सकिने बताउँदै उनले यो पहल नेपाली तरकारी र कृषि उत्पादनका लागि मध्यपूर्वको बजारमा प्रवेश गर्ने महत्वपूर्ण अवसर रहेको बताए।
नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीले सिएफआरडीले सहयोग गरेको ताजा नेपाली तरकारी कतारका लागि निकै महत्वपूर्ण रहेको बताए । कतारमा कार्यरत करिब चार लाख नेपाली कामदारले तातो सुक्खा मौसममा तरकारी खेती गर्न कठिनाइ भोग्नु परेको बताउँदै उनले ताजा तरकारीको आगमन कतारका जनताको हितका लागि महत्वपूर्ण सहयोग रहेको बताए। भविष्यमा पनि नेपाली कृषि उत्पादनको आयात बढ्ने आशा व्यक्त गर्दै यो निर्यातले कतारको बजारको गुणस्तरमा सुधार गर्दै द्विपक्षीय व्यापार सम्बन्धलाई थप मजबुत बनाउने उनले बताए ।
दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले सिएफआरडीसँगको सहकार्यले किसानको कृषि अभ्यासमा व्यापक वृद्धि भएको बताउँदै उत्पादनका लागि नयाँ बजार खुलेको बताए। यसले स्थानीय अर्थतन्त्रलाई मात्र नभई अन्तर्राष्ट्रिय व्यापार सम्बन्धलाई पनि मजबुत बनाउने कार्य गरेको उनले बताए । कतारमा तरकारीको निर्यातले नेपालमा चिनियाँ ग्रामीण विकासका अनुभव परिचय गराउने पहिलो प्रयास रहेको छ । यसले कृषि अभ्यासलाई सुधार गर्न मात्र नभई किसानलाई बजारसँग जोड्न र आर्थिक वृद्धि हासिल गर्न मद्दत पुर्याउने दाबी गरिएको छ । गत महिना सिएफआरडीले नेपाल कृषि तथा वनविज्ञान विश्वविद्यालयसँगको सहकार्यमा चितवनमा कृषि विज्ञान तथा प्रविधि पार्क उद्घाटन गरेको थियो । यस परियोजनाले चिनियाँ र नेपाली कृषिविज्ञद्वारा सञ्चालित हाइब्रिड धान, तरकारी, माछापालन र भैँसीपालनमा अनुसन्धान र परीक्षणमार्फत नेपाली किसानलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।